Skip to main content

गोदावरीका नदीहरुमा भईरहेको अवैध उत्खननले स्थानीयमा त्रास

Submitted by editor on
खैराना नदीको पश्चिमको बस्ती पनि अवैध दोहनले खतरामा परेको छ । महिला सामुदायीक बनमा समेत उत्खनन गरिएपछि खैराना नदीका पश्चिमको गाउँ जोखिममा परेको छ ।
शिवराज भट्ट
स्थानीयमा त्रास

धनगढी : गोदावरी, खुटीया र खैराना नदीमा नगरपालिकाले अमानतमा गरेको नदी दोहन पछि स्थानीयमा त्रास फैलिएको छ । नदीको धार परिवर्तन हुने गरी, आईईई रिपोर्ट विपरित नदी दोहन भएपछि बर्खाका बेला नदी गाउपस्ने डरले स्थानीयमा त्रास फैलिएको हो ।

खैराना नदीको पश्चिमको बस्ती पनि अवैध दोहनले खतरामा परेको छ । महिला सामुदायीक बनमा समेत उत्खनन गरिएपछि खैराना नदीका पश्चिमको गाउँ जोखिममा परेको छ ।

‘गतवर्षमा पनि नदी गाउँ पसेको हो । यसपाली त झन ठुला ठुला खाल्टा हुनेगरी नदीबाट स्रोत संकलन भएको छ । हामीहरुले नगरपालिकामा कतिपटक भनिसक्यौं, यसरी जथाभावि रुपमा नदीको धार नै परिवर्तन हुने गरी नखनि दिनुस र कोही सुनवाई गर्दैन’ स्थानीय रेश्मा देबी चौधरीले भनिन । उनी काँग्रेसबाट गोदावरी नगरपालिका वडा नम्बर ४ की महिला वडा सदस्य पनि हुन ।

‘दिउसो टिप्परहरुले गाउभरी धुलाम्य पारेर बस्न सकिदैन । धोएका लुुगा बाहिर सुकाउन सकिदैन । विहान ३ बजेदेखि नै गाडीको आवाजले गाउँ नै थर्किन्छ । तर पनि सहेरै बसेका थियौं । अब त खोलाको धार पनि परिवर्तन होला भन्ने पिर लागेको छ’ चौधरीले भनिन ।

स्थानीय कृष्णा जोशी पनि यसपाली मनपरी रुपमा नदीजन्य पदार्थको उत्खनन भईरहेको बताउछिन । ‘नर्सरीमा पनि खाल्टा बनाई दिएको छ । नदीको बीच भागबाट उठायो भने पो पानी बगेर जान्छ, नदीको किनारमा खन्न सजिलो हुन्छ भनेर जेसिबि प्रयोग भईरहेका छन । गाउँ रहने हो की होईन भनेर चिन्ता लागिरहेको छ’ उनले भनिन ।

स्थानीय शेर बहादुर विष्ट पनि नदीको दोहन चरम रुपमा बढेको बताउछन । ‘विकास निर्माणका लागि नदीजन्य पदार्थ निकाल्ने हो तर त्यसको पनि एउटा सीमा हुन्छ । यसपाली त नदीहरुको धार नै परिवर्नत हुने गरी जथाभावि रुपमा नदीजन्य पदार्थको उत्खनन भएको छ’ उनले भने ।
गोदावरीका तीन वटै नदी चुरे क्षेत्र (उत्तर) बाट बगेर दक्षिण तिर आउछन । खुटीया नदी धनगढी उपमहानगरको ठिक उत्तरमा पर्छ ।

खुटीयामा भईरहेको अवैध उत्खननले प्रदेशको राजधानी जलमग्न हुने सम्भावना बढेको छ । धनगढीको उत्तरमा रहेको पुर्वपश्चिम राजमार्गको आसपासमा तटबन्ध भएपनि त्यस भन्दा माथि चुरेतर्फ र पुल देखि दक्षिणका अधिकांस बस्ती छेउमा तटबन्ध छैन ।