Skip to main content

गोदावरीबाट नियन्त्रणमा लिईएका ढुवानी साधनलाई सवा ६ लाख जरिमाना

Submitted by editor on
उत्खनन हुने स्थानको चारकिल्ला तोक्नुपर्ने, नदीजन्य पदार्थ उत्खनन हुने स्थानमा लम्बाई, चौडाई र गहिराई सहितको स्पष्ट देखिने बोर्ड राख्नुुपर्ने निर्देशन
शिवराज भट्ट
सवारी साधन

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको तीन वटा नदीबाट नियन्त्रणमा लिइएका १९ वटा ढुवानी साधनलाई ६ लाख ९ हजार जरिवाना गरिएको छ । नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिका संयोजक तथा जिल्ला समुुन्वय समितिका कार्यबाहक प्रमुख खगराज भुुषालले बुधबार बसेको बैठकले प्रदेश सरकारको आर्थिक ऐनको अनूसुची ७ बमोजिम जरिवाना गर्ने निर्णय गरेको बताए । 

उक्त ऐन अनुसार ट्याक्टरबाट प्रति ट्याक्टर ३ हजार, टिप्परबाट प्रति टिप्पर ३० हजार जेसिबि र एक्जाभेटरबाट ५० हजार जरिवाना लिने ब्यवस्था गरिएको छ । 

नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिले आईतबार गोदावरी नगरपालिका भीत्रका गोदावरी, खुटीया र खैराना खोलाबाट ६ वटा जेसिवि र एक्जाभेटर, १० वटा टिप्पर र तीन वटा ट्याक्टर नियन्त्रणा लिएको थियो । सबै ढुवानीका साधनहरु ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएका थिए । 

जिल्ला समुुन्वय समितिको नेतृत्वमा रहेको नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिमा प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीका प्रमुख, डिभिजन बन प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र आन्तरिक राजश्व कार्यालयका प्रमुख सदस्य रहने प्रावधान छ । 

बुधबार बसेको बैठकले उक्त जरिवाना गोदावरी नगरपालिकाले नै असुल उपर गर्ने, नदीमा भण्डारण गरिएको नदीजन्य पदार्थ तोकिएको समयमा हटाउने, तोकिएको समयमा नहटाए जफत गरिने, हरेक स्थानीय तहले खोलानालाको वातावरण प्रभाव मुल्यांकनको एक प्रति जिल्ला प्रशासन कार्यालयमा बुुझाउने निर्णय पनि गरेको छ ।

यस्तै समितिले उत्खनन हुने नदीको स्थान तोकेर त्यसको चारकिल्ला तोक्नुपर्ने, तोकिएको हरेक स्थानको लम्बाई, चौडाई र गहिराई वातावरण प्रभाव मुल्यांकनमा अनिवार्य हुनुपर्ने, नदीजन्य पदार्थ उत्खनन हुने स्थानमा स्पष्ट देखिने गरि त्यसको लम्बाई, चौडाई र गहिराई देखिने बोर्ड राख्नुुपर्ने पनि निर्देशनात्मक निर्णय गरेको छ ।

समितिले जिल्ला भरिका सबै स्थानीय तहहरुलाई चुरेको संरक्षण गर्न, बन क्षेत्र आसपासको उत्खननका लागि डिभिजन बनसँग समुन्वय गर्न र आईईई रिपोर्टमा कडाई गर्न निर्देशन गरेको छ ।

समितिले नदीमा पारिएका ठुला ठुला खाल्टा सम्बन्धित निर्माण ब्यवसायीले तुरुन्त पुर्न पनि निर्देशन गरेको छ । जिल्लास्तरीय विपत ब्यवस्थापन समितिको निर्णय बिना खोलानालामा जेसिबि र एक्जाभेटरको प्रयोग कानूनमा बर्जित छ । 

गोदावरी नगरपालिकाका तीन वटै नदीमा वातावरण प्रभाव मुल्यांकन विपरित ७÷८ मिटरका गहिरो खाल्टा बनाईएका थिए । जबकी वातावरण प्रभाव मुल्यांकनमा बढीमा १ मिटर भन्दा गहिरो खाल्डा बनाउन नपाउने उल्लेख छ ।