Skip to main content

राजघाट जाने पुल खतरामा पर्नेगरि भईरहेको मोहनाको उत्खननमा पनि रोक

Submitted by editor on
ईबिगुल संवाददाता
 उत्खननमा रोक

धनगढी :  कैलाली र कञ्चनपुरको सीमाना छुट्याउदै बग्ने मोहना नदीको उत्खननमा पनि नदीजन्य पदार्थ जिल्ला स्तरीय अनुुगमन समितिले रोक लगाएको छ । मोहना नदीको राजघाट जाने पुलको उत्तरमा ५ सयमीटरभीत्र र दक्षिणमा पनि एक किलोमिटर भीत्र उत्खनन भईरहेको थियो ।

 नदीजन्य पदार्थ जिल्ला स्तरीय अनुुगमन समितिले कानून विपरित पुलको नजिकबाट उत्खनन भईरहेको भन्दै रोक लगाएको जनाएको छ। 

‘पुलको उत्तरतिर ५ सय मिटर र दक्षिणतिर एक हजार मिटरको क्षेत्रमा उत्खनन गर्न नपाईने कानूनी प्रावधान छ तर पुलको दक्षिणमा एक हजार मीटरभीत्र नै उत्खनन गरेको पाईयो । उत्तरमा पनि तटबन्धलाई क्षती हुने हिसाबले उत्खनन भईरहेका पाईएपछि त्यसमा रोक लगाईएको हो’ नदीजन्य पदार्थ जिल्ला स्तरीय अनुुगमन समितिका संयोजक खगराज भुुषालले भने।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मोहना, मछेली, बनारा र बन्ड खोलाबाट नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि साढे ४ करोडमा ठेक्का दिएको हो । उक्त नदीको ठेक्का काठमाण्डौंको सगरमाथा कन्स्ट्रक्सनलाई परेको थियो ।

बुधबार कैलाली र कञ्चनपुरको संयुक्त अनुगमन समूहले उक्त क्षेत्रमा हुँदै आएको उत्खननको निरिक्षण गरेको थियो । 

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भुषाल, कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, कैलालीका प्रमुख जिल्ला अधिकारी ध्रर्मेन्द्र मिश्रसहित प्राविधिकहरूको संयुक्त टोलीले मोहना नदीको स्थलगत अनुगमन गरेका थिए ।