Skip to main content

ब्रोकर नं.३४ को शाखा धनगढीमा, दीपशीखाको एकाधिकार टुटदै

Submitted by editor on
ईबिगुल संवाददाता
स्टक ब्रोकर नं.३४

धनगढी  ः भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं.३४) ले सुदूरपश्चिमको राजधानी धनगढीमा शाखा विस्तार गरेको छ । शाखाको औपचारिक उद्घाटन भने फागुन ५ गते हुनेछ । धनगढीको मुख्य सडकस्थित रातोपुलमा कार्यालय स्थापना भई आवश्यक प्रक्रिया अघि बढाएको भिजन सेक्युरिटिज धनगढी शाखाले जनाएको छ । 

‘हामीले कार्यालय स्थापना गरिसकेका छौं । त्यसको औपचारिक उद्घाटन फागुन ५ गते हुनेछ,’ धनगढी शाखाकी प्रमुख माया जोशीले भनिन । ‘शाखाको स्थापना भएसँगै भिजन सेक्युरिटिज नेपालमा सबै भन्दाबढी शाखा भएको ब्रोकर भएको छ ।’ 

धनगढीमा शाखा विस्तारसँगै भिजनका केन्द्रीय कार्यालयसहित १२ वटा कार्यालय हुनेछन । नियामक निकायहरुबाट अनुमति लिई सेयरबजारको इतिहासमा नेपालमा सबै भन्दाबढी शाखा सञ्जाल भएको भिजनले जनाएको छ । 

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा हालसम्म दीपशिखा धितोपत्र कारोवार कम्पनी (स्टक ब्रोकर नं.३८) को मात्र शाखा रहेको छ । सिंगो सुदूरपश्चिम प्रदेशभरी दीपशिखाले मात्र कारोवार गरिरहँदा एकलौटी थियो ।

सेवाग्राहीले समयमै सेयर नपाउने, सेयर विक्रि गरेको हप्तौसम्म पनि भुक्तानी नपाउने समस्या थिए । अब अर्को ब्रोकर (भिजन) को शाखा स्थापना भई कारोबार भएपछि सेयरलगानीकर्तालाई सहज हुने सेयर कारोबारी राकेश सिंहले बताए ।

सुदू्पश्चिमको प्रमुख शहर तथा व्यापारी केन्द्रको रुपमा रहेको धनगढीमा भिजनले शाखा खोलेसँगै आपसमा प्रतिस्पर्धा भई सेयरलगानीकर्ताको समयको वचत हुनुका साथै कारोबार गर्न सहज हुने यस क्षेत्रका सेयरलगानीकर्ताको भनाई छ ।

भिजनले धनगढी शाखाबाट डिम्याट, टिएमएस लगायतका सेवा उपलब्ध गराउने र सेयरलगानीकर्ताको रकम भुक्तानी समयमै दिने जनाएको छ । सेवाग्राहीले भिजनबाट उपलब्ध हुने डिम्याट, टिएमएस, रकम भुक्तानीलगायतका सेवा कार्यालयमै आएर वा अनलाइनमार्फत पनि लिन सक्ने ब्यवस्था रहेको जोशीले जानकारी दिइन् । 

पछिल्ला दिनमा सेयर ब्रोकरले धनगढीमा कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयर सम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढ्न थालेको सेयरलगानीकर्ता युवराज जोशीले बताए  ।