Skip to main content

श्याम देउवा मृत्यु प्रकरण : हिरासतमा रहेका ६ जना हाजीरि जमानीमा रिहा

Submitted by editor on
शिवराज भट्ट
 ६ जना हाजीरि जमानीमा रिहा

धनगढी  ः कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका श्याम देउवाको मृत्यु प्रकरणमा प्रमाण नपुुगेको भन्दै सरकारी वकिल कार्यालय कैलालीले पक्राउ परेका ६ जनालाई हाजीरि जमानीमा छोडन आदेश दिएको छ । 

यो सँगै घटनामा किटानी जाहेरी पछि पक्राउ परेका ६ जना प्रहरी हिरासतबाट छुटेका छन । जिल्ला सरकारी वकिलको कार्यालय, कैलालीले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीलाई नै फाइल फिर्ता गरेको छ ।

पुसको २५ गते अत्तरियाको न्यु सत्कार दोहोरीमा गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का ४२ वर्षका श्याम देउवाको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा पुस २६ गते मृत्यु भएको थियो ।

घरबाट पुस २५ गते अत्तरिया तर्फ आएका देउवा २६ गते विहान कृष्णपुरकै चौकीडाँडामा घाईते अवस्थामा फेला परेपछि आफन्तहरुले उनलाई उपचारका लागि धनगढी स्थित निसर्ग अस्पताल पुुगाएका थिए । तर उनको त्यसै दिन मृत्यु भएको थियो ।

शरिरभरी घाउ भएको अवस्थामा घाईते फेला परेका देउवाको मृत्यु भएपछि आफन्तहरुले ६ जनाका विरुद्ध किटानी जाहेरी दिएका थिए । 
मृतकका आफन्त चक्र बहादुर देउवाले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का टेक बहादुर नायक, वडा नम्बर ९ का राम बहादुर ऐर, गोदावरी नगरपालिका वडा नम्बर १ का विनोद शाह, वडा नम्बर १ कै उमेश बढैला, यज्ञ विक र गोदावरी ६का प्रकाश ओली विरुद्ध किटानी जाहेरी दिएका थिए । 

प्रहरीले किटान गरिएका ६ जनालाई नै पक्राउ गरि अनुसन्धान गरेको थियो । संघीय प्रहरीको विषेशज्ञ टोली, ईलाका प्रहरी कार्यालय मालाखेती, जिल्ला प्रहरी कार्यालय कैलाली र सिआईबीको टोलीले समेत घटनाको अनुसन्धान गरेको थियो । 

विहिबार सरकारी वकिलको कार्यालयले उनको हत्याको ठोस प्रमाण नपुुगेको भन्दै प्रहरीलाई फाईल फिर्ता गरेको हो भने हिरासतमा भएका ६ जनालाई नै हाजिरि जमानीमा रिहा गर्न आदेश गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले मुद्धा यथावत रहने र त्यसमा थप प्रमाण खोज्ने कार्य हुने बताए । उनले मुद्धाको थप अनुसन्धान भईरहेका पनि बताए ।