Skip to main content

एसीसी वुमन्स प्रिमियर कप : माल्दिभ्सलाई २१४ रनले पराजित गर्दै नेपाल विजयी

Submitted by editor on
रुविना क्षेत्रीको शानदार सतक, कीर्तिमानी जित
एजेन्सीहरुको सहयोगमा
 रुविना क्षेत्रीको शानदार सतक, कीर्तिमानी जित

काठमाडौं : नेपाल एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । मलेसियाको सेलांगुर टर्फ क्लबमा भएको खेलमा माल्दिभ्सलाई २१४ रनले हराउँदै नेपाल विजयी भएको हो ।

१३.५ ओभरमा नै १३ रन बनाएर माल्दिभ्स अलआउट भएको हो । नेपालका लागि अमिना कर्मचार्यले ४ विकेट, पूजा महत्तो र रुविना क्षेत्रीले ३÷३ विकेट लिएकी हुन् ।  माल्दिभ्सका खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

त्यस अगाडि रुविना क्षेत्रीले माल्दिभ्सविरुद्धको खेलमा शानदार सतक प्रहार गरेकी छन् । क्षेत्रीले सतकसँगै नेपालले माल्दिभ्ससामु २२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै नेपालले २२७ रनको योगफल तयार गरेको हो ।

क्षेत्रीले ५९ बलमा ११८ रन बनाएर अविजित रहिन् । उनले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । योसँगै रुविना क्षेत्री नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडीसमेत बनेकी छिन ।

यसैगरी क्षेत्रीसँग साझेदारी गरेकी पूजा महतोले अर्धशतक प्रहार गरिन् । उनले ३६ बलमा १ छक्का र ५ चौकासहित ५९ रन बनाएर अविजित रहिन्। नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । नेपालले यस अगाडि हङकङ र भुटानलाई पराजित गरेको थियो ।