Skip to main content

कैलालीमा भारतीय कारको ठक्करबाट एकको मृत्यु, दुईजना घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
साइकल यात्रीको मृत्यु

लम्की (कैलाली) : कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एकजना साइकल यात्रीको मृत्यु भएको छ । 

लम्कीचुहा नगरपालिका वडा नं २ मोतीपुर चोकस्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतीय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राती मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उक्त कार चालक लम्कीचुहा नगरपालिका–६ मा अन्य दुई जनालाई ठक्कर दिएर घाइते बनाएर भागेका थिए । घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन । मनिरामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । 

कार र चालक लम्कीचुहा नगरपालिका वडा नं १० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।