काठमाडौ : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रिय सचिवमा सुदूरपश्चिमबाट सम्भु लामिछाने निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न महासंघको ७ औं महाधिवेशनबाट लामिछाने सचिबमा निर्वाचित भएका हुन ।
उनले जम्मा खसेको ५११ मत मध्ये ३०९ मत प्राप्त गरे । सुदूरपश्चिमको धनगढीबाट एक दशक लामो समयदेखि पुस्तक व्यवसायमा सकृय लामिछाने चितवनको सौराहामा सम्पन्न छैटौं महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै सुदुरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा स्टेसनरी तर्फ योगेन्द्र बहादुर शाही र भुगोल तर्फ केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट शंकर बहादुर कठायत निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा पुस्तक तर्फ खुल्ला उम्मेद्बारी दिएका सुदूरपश्चिमका शंकर दत्त भट्ट भने पराजित भएका छन् । ७ जना केन्द्रिय सदस्य खुल्लाका लागि १५ जनाको मनोनयन परेको थियो । भट्टले २२४ मत मात्र प्राप्त गरे ।
यस्तै महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष शर्मा गुडविल पब्लिकेसन्सका सञ्चालक हुन् । अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी रहेको थियो । कुल ५११ खसेको मतमा शर्माले ३२३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गरे ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के, महासचिवमा विष्णुप्रसाद पौडेल, उप–महासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने, महिला सचिवमा कोपिला गिरि निर्वाचित भएका छन् । त्यसैगरी सह–कोषाध्यक्षमा रविन बराल र लेखा संयोजकमा कृष्णराम कार्की निर्वाचित भएका छन् ।