Skip to main content

बेहडाबाबा धाममा हेलिकप्टरबाट पुष्प वर्षा, सवा दुुई करोड दीप प्रज्वलन गरिने

Submitted by editor on
ईबिगुल संवाददाता
बेहडाबाबा मन्दिर

धनगढी : धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा हेलिकप्टरबाट पूष्प वर्षा गरिएको हो । आयोजक बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको बताए । 

अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउने काम भएको बताए । बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइएको छ । त्यस्तै अपराह्न ४ बजे सवा दुुई करोड दीप प्रज्वलन गरिने जोशीले बताए ।

पुष्प वर्षाका लागि नरेन्द्र शाहको संयोजकत्वको टोलीले १४ लाख नौ हजार नौ सय ५० रकम संकलन गरेको थियो । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्वीन्टल  फूलका लागि दुई लाख गरी जम्मा १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारा सहित निःशुल्क खाना र पानीको व्यवस्था गरिएको छ । बेहडाबाबा धाममा आवतजावतका लागि बासको व्यवस्था साथै कडा सुरक्षाकोे समेत व्यवस्था गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्वयंसेवक परिचालन भएका छन ।

बेहडाबाबा मन्दिरमा दर्शन तथा पुजाका लागि बिहान ४ बजेदेखि मन्दिरका चारवटै ढोका खुला गरिएको मुल पुजारी ओमप्रकाश जोशीले बताए । बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतका लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट समेत भक्तजन आएपछि मन्दिर क्षेत्रमा घुँइचो लागेको छ ।