Skip to main content

एमालेका लागि सरकार भन्दा पनि गठबन्धन भत्किनु उपलब्धी हो : पोखरेल

Submitted by editor on
शिवराज भट्ट
ईश्वर पोखरेल

धनगढी  : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारमा गएर राम्रा राम्रा मन्त्रालय छान्नुभन्दा पनि नेकपा एकालेका लागि अलोकतान्त्रिक गठबन्धन भत्काउनु ठुलो उपलब्धी भएको बताएका छन ।

नेकपा एमाले बैतडीको सोमबार हुने जिल्ला अधिवेशन उद्घाटनका लागि बैतडी जाने क्रममा आईतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । 

‘एमालेका लागि सरकारमा गएर राम्रा राम्रा मन्त्रालय छान्नुभन्दा पनि अलोकतान्त्रीक गठबन्धन भत्काउनु उपलब्धी हो’ उनले भने । विमानस्थलमै प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले गठन भएको दाबी गरे ।

‘पुरानो गठबन्धन लोकतान्त्रिक र विधिसम्मत थिएन । त्यो नेकपा एमालेलाई लक्षित गरि बनाईएको थियो । त्यससँग कुनै निश्चित कार्यक्रम र उद्देश्य पनि थिएन’ पोखरेलले भने । ‘आवाञ्छित ढंगले खडा गरिएको गठबन्धन टुट्नु सकारात्मक कुरा हो । सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्वपूर्ण होइन ।’

नेता पोखरलले नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी गरे । ‘यो गठबन्धन अबका ४ बर्षसम्म चल्छ’ उनले भने । संरचनागत ढंगले अघि बढ्ने क्रममा भविष्यमा यस्तै अवस्था भए बामपन्थी एकताको कुरा पनि हुनसक्ने भएपनि अहिले नै त्यो बारेमा नसोचेका उनको भनाई थियो ।

‘१० पुस २०७९ मा बनेको अहिलेकै गठबन्धन दुर्भाग्यबस टुटेको थियो । तर अहिले हामी फेरी त्यही ठाउँमा पुगेका छौँ । मुलुकलाई सकारात्मक दिशातर्फ लैजान पहल सुरु भएको छ’ पोखरेलले भने ।

सुदूरपश्चिम सहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठन गर्न बहुमत नरहेको प्रसंगमा पोखरेलले सबै पक्षसँग संवाद भइरहेको बताए । सुदूरपश्चिममा नाउपालाई सकारात्मक पहल प्रयत्नमा सहभागी बन्नुहोस् भनेर आग्रह गरेको बताउँदै पोखरेलले छलफल जारी रहेको उल्लेख गरे ।