Skip to main content

अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको अनुपस्थितिमै बस्यो उन्मुक्तिको केन्द्रीय समिति बैठक

Submitted by editor on
२१ संस्थापक केन्द्रीय सदस्य मध्ये १५ जना उपस्थित
ईबिगुल संवाददाता
उन्मुक्तिको केन्द्रीय समिति बैठक

टीकापुर : अध्यक्ष रञ्जीता चौधरीको अनुमपस्थितिमै नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक केहीबेर अघि टीकापुरमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने वा नजाने विषयमा आन्तरिक विवादमा परेको उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरूको बैठक पार्टीका संस्थापक उपाध्यक्ष दामोदर पण्डितको अध्यक्षतामा टीकापुरमा सुरु भएको हो ।

दिउसो उक्त बैठक स्थगित भएको बताईएको थियो । केही समयअघि टीकापुरमा सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बस्ने भनिएको बैठक उनको अनुपस्थितिमै बसेको एक केन्द्रीय सदस्यले बताए ।

‘संस्थापक २१ सदस्य मध्ये बैठकमा १५ सदस्य उपस्थित भएका छन’ बैठकमा सहभागी एक सदस्यले भने । ‘अध्यक्षज्यूकै निर्देशन अनुसार निर्धारित भएको बैठक उहाँको उपस्थिति बिना नै सुरु भएको छ ।’ 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा जाने वा प्रतिपक्षमा बस्ने जस्ता महत्वपूर्ण विषयमा छलफल सुरु भएको ती सदस्यले बताए । 
उक्त पार्टीबाट अध्यक्ष श्रेष्ठसहित चारजना प्रतिनिधि सभा सदस्य छन् भने सुदूरपश्चिम प्रदेशमा ७ जना प्रदेश सभा सदस्य छन् । पार्टीका अध्यक्ष श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच विवाद उत्कर्षमा पुगेपछि पहिलोपटक उक्त पार्टीको बैठक बस्न लागेको हो । 

वर्तमान गठबन्धनमा सहभागी नहुने पक्षमा संरक्षक चौधरी रहेका छन् भने वर्तमान गठबन्धनमै रहेको अध्यक्ष श्रेष्ठले बताउँदै आएकी छन् ।