Skip to main content

कैलालीको मुडा बजार नजिकै फेरि लाईटर बोकेको ट्रकमा आगलागी

Submitted by editor on
ईबिगुल संवाददाता
कैलालीको लम्कीमा फेरि लाईटर बोकेको ट्रकमा आगलागी

धनगढी : कैलालीको कर्णाली पुलमा ट्रकमा आगलागी भएको घटना सेलाउन नपाउदै कैलालीको मुडाबजार नजिकै उस्तै प्रकारको घटना दोहोरिएको छ । शनिबार अपरान्ह बीरगञ्जबाट लाईटर, डाईपर र खुर्सानी बोकेर धनगढी तर्फ आईरहेको ट्रकमा कर्णाली पुलमा भएको जस्तै आगलागी भएको छ ।

शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका– ४ मुडा बजार नजिकै बीरगञ्जबाट लाइटर, खुर्सानि र बच्चाले लगाउने डाईपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा अचानक आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले पर्सा बिरगञ्ज महानगरपालिका– १ बस्ने  ४० वर्षीय बिनोद ठाकुरले चलाएको  ट्रकमा अचानक आगलागी भएको बताए ।

तत्कालै प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोली, घोडाघोडी नगरपालिका  र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए । क्षतिको विवरण संकलन भईरहेको छ । 

चालकले  एकजना मोटरसाईकल सवार ब्यक्तिले रोकेर ट्रकमा आगो दन्किरहेको बताएपछि थाहा पाएको बयान दिएका छन । यसअघि सोमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा एक्कासि ट्रकमा आगो लागेको थियो । उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारको काम भइरहेको प्रहरीले जनाएको छ ।