डडेल्धुरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापती शेरबहादुर देउवाले देशको मात्र होइन डडेल्धुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताइका छन ।
नेकपा एमाले डडेलधुराको नवौँ जिल्ला अधिवेशनको सोमबार पर्शुराममा उदुघाटन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाले देखाउन लायकको कुनै काम गर्न नसकेको आरोप लगाए । ‘मैले देउवाजीलाई सोधेको थिएँ, पाँच–पाँच पटक प्रधानमन्त्री हुनुभयो, देशको लागि के गर्नु भयो ? भन्दा उहाँले भन्न सक्नु भएन’ ओलीले भने ।
आफूले प्रधानमन्त्री हुँदा देशको विकास र समृद्धिका लागि अनेकन काम गरेको ओलीको दाबी थियो । आफूले सरकारको नेतृत्व गर्दा देशै भर ठुला परियोजना एकै साथ सुरु गरेको उनले स्मरण गराए ।
शेरबहादुर देउवाले खुलेआम पैसा बाँडेर चुनाव जित्ने गरेको पनि ओलीको आरोप थियो । त्यो आफूले लगाएको आरोप नभई टेलिभिजनमा लाइभ देखिएको ओलीले बताए । ‘उहाँको जित्ने तरिका त्यही हो’ ओलीले भने ।
आफूले सराकारको नेतृत्व गर्दा उत्पादन वृद्धिदर ७ प्रतिशत माथि पुगेको भए पनि आफू सरकारबाट हट्ने बित्तिकै अर्थतन्त्र निरन्तर ओरालो लागेको ओलीले बताए । सेती लोकमार्ग, महाकाली करिडोर, मदन भण्डारी मध्य पहाडी लोकमार्ग, ३ सय ९६ अस्पताल, सबै पालिकामा औद्योगिक ग्रामहरू लगायतका धेरै काम आफूले सुरु गरेको ओलीले दाबी गरे ।
ओलीले डडेल्धुराको विकासको लागि अब नेकपा एमालेले काम गर्ने बताए । ‘शेरबहादुर देउवाले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणा समेत कार्यान्वयन गर्नुभएन’ ओलीले भने । ‘डडेल्धुराका जनताले राखेको माग एमालेले पूरा गर्छ ।’
ओलीले एमालेका नेता र जनप्रतिनिधि जनतालाई बाटो देखाउने काम गर्नुपर्ने बताए । कृषिमा कसरी आधुनिकीकरण गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पु¥याउन सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्नेमा उनको जोड थियो ।