Skip to main content

बझाङको बुंगल नगरपालिकामा सात महिनामा फरक फरक चार जना प्रशासकीय अधिकृत

Submitted by editor on
ईबिगुल संवाददाता
प्रताप ओली
प्रताप ओली

बझाङ : बझाङको बुंगल नगरपालिकामा चालु आर्थिक बर्षको सात महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारबाट बुंगल नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी नगरपालिकामा स्वास्थ्य सेवा इन्स्पेक्सन समुह अधिकृत स्तर छैठौं तहमा कार्यरत नरेश कुँवरलाई दिएको छ ।  

गत असोजमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चापागाईको मकवानपुर सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाको लागि नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धुर्वराज जोशीलाई दिएको थियो । 

उनको कार्याअवधि मंसिर २४ गते सकिएपछि फेरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको प्रशासन र आर्थिक गतिविधि सहितको जिम्मेवारी बुंगल नगरपालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समुह अधिकृत छैटौं तहमा कार्यरत माधव राज जोशीलाई दिएको थियो ।

माधवराज जोशीले उपचारको लागि लामो समयसम्म बाहिर जानुपर्ने भन्दै राजिनामा दिएपछि फेरी बुंगल नगर कार्यपालिकाले आर्थिक अधिकार सहित नरेश कुँवरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको पछि मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी कुँवरलाई सुम्पिएको हो ।

बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षमा मात्रै ४ जना प्रशासकीय अधिकृत फेरिएका छन् । यसरी छोटो समयमानै प्रशासकीय अधिकृत फेरिदा सेवा प्रवाह समेत फितलो हुने गरेको र आर्थिक कारोबारमा पनि समस्या हुने गरेको स्थानीय गोरख बोहराले बताएका छन् ।