Skip to main content

नाउपा अध्यक्ष रञ्जीता र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारमा जाने संकेत

Submitted by editor on
ईबिगुल संवाददाता
नाउपा अध्यक्ष रञ्जीता र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारमा जाने संकेत

धनगढी : नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने संकेत देखाएको छ । शनिबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सरकारमा जाने संकेत गरेका हुन ।

‘प्रधानमन्त्री ज्युले एक मन्त्रालय सहित सरकारमा आउनका लागि आग्रह गर्नुभयो । नयाँ गठबन्धनलाई हामीले विश्वासको मत पनि दिएका छौं, विश्वासको मत दिनुभनेको सरकारमा जानकै लागि हो । हाम्रो पार्टी सरकारमा जान सकारात्मक छ’ उन्मुक्तिका एकजना नेताले भने ।
उनले, लुम्बिनी र सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई सहयोग गर्ने बताए । छलफलमा नागरिक उन्मुुक्तिका संस्थापक नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए । 

फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए । ‘नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको छ’ मेयर डंगौराले भने । 

सुदूरपश्चिमका लागि भने नागरिक उन्मुक्तिका बहुमत प्रदेश सभा सदस्यहरुले कमल बहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरिसकेका छन । एकजना नेता भन्छन, ‘त्यो निर्णय परिवर्तन हुन सक्छ, संघ सरकारमा जानका लागि त्यो निर्णय दबाब दिने उद्देश्यले गरिएको हुनसक्छ ।’

सुदूरपश्चिमका मुख्यमन्त्री शाह अहिले अल्पमतमा छन । उनले चैतको २३ गतेभीत्र विश्वासको मत लिईसक्नुपर्छ । उनीसँग आफ्नो पार्टी (नेपाली काँग्रेस) का १८ र उन्मुुक्तिका ७ जना र स्वतन्त्र १  जना गरी २६ जनाको मात्रै समर्थन छ । बहुमतका लागि उनलाई १ जना प्रदेश सभा सदस्यको कमी भएको छ । 

नागरिक उन्मुक्ति पार्टी भीत्र देखिएको विवादका कारण पनि मुख्यमन्त्री शाह, उसका पुरै ७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिनेमा ढुक्क छैनन । नागरिक उन्मुक्तिबाट भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनाएका कैलाश चौधरीलाई हटाएर उनको ठाउँमा ईन्द्रा गिरिलाई राज्यमन्त्री बनाएपछि उनी रुष्ट छन । 

उद्यपी सरकार टिकाउनका लागि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका ५ जनालाई मन्त्री बनाएका छन । २ जना बिना विभागिय लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी पनि बिभाग नतोकेको भन्दै रुष्ट भएका छन  ।

पुरानो गठबन्धनका बेला स्वतन्त्र सांसद डाक्टर तारा प्रसाद जोशीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएपनि, अहिले उनले पनि सरकारमा बहुमत ल्याउन सक्ने पक्षलाई मत हाल्ने मुड बनाएका छन ।