Skip to main content

मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

Submitted by editor on
शिवराज भट्ट
नागरिक उन्मुक्ति पार्टी

धनगढी : संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला, नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जीता चौधरीको अध्यक्षतामा, उपाध्यक्ष दामोदर पण्डीत सहित पार्टीको बहुमत केन्द्रिय समितिले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगले रेशमलाल चौधरी नेतृत्वको नयाँ केन्द्रिय समिति अवैधानिक ठहर गरेपछि रञ्जीता नेतृत्वको पुरानै २१ सदस्यीय केन्द्रिय समितिको बैठक बसेको हो । बुधबारको बैठकमा २१ जना मध्ये १२ जनाको उपस्थिति रहेको बताईएको छ । 

‘केन्द्रिय समितिको बहुमतले केन्द्रकै गठबन्धन अनुसार प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेको छ । हामीले यो निर्णय लगेर प्रधानमन्त्री र गठबन्धनका शीर्ष नेताहरुलाई भेटछौं । केही ‘गीभ एण्ड टेक’ को कुरा गर्नुछ, त्यसपछि मात्रै समर्थन  फिर्ता लिन्छौं’ पार्टीका प्रवक्ता समेत रहेका उपाध्यक्ष दामोदर पण्डितले भने ।

केही दिन अघि पार्टी अध्यक्ष रञ्जीता चौधरी सहितका प्रतिनिधि सभा सदस्य, पार्टी पदाधीकारीहरुले बालुवाटारमै गएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए । त्यतीबेला प्रधानमन्त्री दाहालले उन्मुक्तिलाई सरकारमा आउन आग्रह गरेका थिए । 

प्रधानमन्त्रीसँगको भेटघाट पछि पार्टी अध्यक्ष रञ्जीता चौधरी आफै टीकापुर आएकी हुन । तर टीकापुरमा भएको पार्टीको बैठकमा भने मन्त्री बाहेक २ जना प्रदेश सभा सदस्य मात्रै उपस्थित थिए । 

७ जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिका ४ जनालाई मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री र एक जनालाई राज्यमन्त्री बनाएको छन । मन्त्री बाहेकका २ जना प्रदेश सभा सदस्य मात्रै बैठकमा उपस्थित भएपछि समर्थन फिर्ताको निर्णय लागु हुने वा नहुनेमा आशंका पैदा भएको छ ।

तर पार्टी प्रवक्ता दामोदर पण्डीत भन्छन, ‘पार्टी भनेको पार्टी हो । पार्टीबाटै सबै जना प्रदेश सभा सदस्य भएका हुन । उनीहरु पार्टीले गरेको निर्णयमा आउनुपर्छ भन्ने मलाई विश्वास छ ।’ उनले प्रदेश सभाका सबै सदस्यहरुलाई खबर भने गरिएको बताए ।

सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी निर्णयक छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा काँग्रेसका १८ (एकजनाको निधन), नेकपा माओवादी केन्द्रका ११ (सभामुख सहित), नेकपा एमालेका १० (उपसभामुख सहित), नागरिक उन्मुक्ति पार्टीका ७, समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन । नयाँ गठबन्धनलाई सरकार बनाउन नागरिक उन्मुक्तिको समर्थन आवश्यक पर्छ ।