Skip to main content

गठबन्धनभीत्र टुंगियो प्रदेशको भागबण्डा, सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
गठबन्धनभीत्र टुंगियो प्रदेशको भागबण्डा, सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री

काठमाडौं : सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिनेछन ।

प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभामा नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु दलसँग छलफल गरेका थिए ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुुसार शीर्ष तहबाट भागबण्डा टुंगिएको छ । ‘सबै प्रदेशमा आलोपालो गर्ने सहमति भएको छ,’ ती पदाधिकारी भन्छन्, ‘पहिलो चरणमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगियो ।’

पहिलो चरणमा कुन प्रदेशमा कसको नेतृत्व ?

कोशी: एमाले
मधेश: जसपा
बागमती:  माओवादी
गण्डकी : एमाले
लुम्बिनी: माओवादी
कर्णाली: एमाले
सुदूरपश्चिम : नाउपा

एमाले–माओवादी नेताहरुले सुदूरपश्चिममा पनि सरकार बनाउने गरी भागबण्डा गरेका छन् । तर गठबन्धनको बहुमत (२७) छैन । ५३ सदस्यीय प्रदेशसभामा माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । अहिले प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेस (१८) सबभन्दा ठूलो दल हो, तर मुख्यमन्त्री कमलबहादुर शाहसँग पनि बहुमत छैन ।

सरकार गठनमा निर्णायक नाउपा (७) विभाजित छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्ष एमाले–माओवादी गठबन्धनको पक्षमा रहेपनि संरक्षक रेशम चौधरी पक्षले ५ सांसदलाई कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनाइसकेको छ । 

नाउपाका कारण सरकार गठनमा अलमल भएपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार विहान रञ्जिता र रेशमसँग छुट्टाछुट्टै छलफल गरेका छन् । तर अहिलेसम्म नाउपाले साथ दिने प्रष्ट नभएकाले सरकार गठन अलमलमै छ ।