Skip to main content

मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, आजै नयाँ सरकारको आह्वान हुने

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेश प्रमुख नजीर मीया

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख नजीर मीयाले मुख्यमन्त्री शाहले विहीबार बेलुकी दिएको राजीनामा शुक्रबार स्वीकृत गरेका हुन । प्रदेश प्रमुखले अर्को सरकार नबन्दासम्म उनलाई नै मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन ।

प्रदेश प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार आज नै नयाँ सरकार गठनको आह्वान हुनेछ । प्रदेश प्रमुख मीयाले संविधानको धारा १६८ (२) अनुसार नै सरकार आह्वान गर्ने सम्भावना रहेको छ । 

यस धारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने दाबी गर्न सकिन्छ । यसअघि एमालेका राजेन्द्र सिह रावल यस धारा अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनले ३० दिनभीत्र विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार कमल बहादुर शाहको नेतृत्वको सरकार बनेको थियो । 

शाहले राजीनामा दिएपछि फेरि संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठनको आह्वान हुने सम्भावना बढेको छ । 

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५२ जना छन । काँग्रेसका एकजना प्रदेश सभा सदस्यको निधन भएको थियो । प्रदेश सरकार बनाउनका लागि २७ प्रदेश सभा सदस्यको बहुमत चाहिन्छ । 

प्रदेश सभामा काँग्रेस १८, माओवादी सभामुख सहित ११, एमाले उपसभामुख सहित १०, नागरिक उन्मुक्ति पार्टी ७ (१ जना कारवाही), समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन । 

शीर्ष नेताहरुबीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपनि नागरिक उन्मुक्ति भीत्रको विवादका कारण अहिले नै मुख्यमन्त्री कसले दाबी गर्ने भन्ने कुराको टुंगो भने लागिसकेको छैन ।