Skip to main content

नागरिक उन्मुक्तिद्वारा टीकापुरको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण, के भने प्रचण्डले ?

Submitted by editor on
ईबिगुल संवाददाता
नागरिक उन्मुक्तिद्वारा टीकापुरको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण, के भने प्रचण्डले ?

धनगढी : नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका पार्टी प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र बुझाएका छन ।

पूर्वमन्त्री समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी, टीकापुरका मेयर रामलाल डगौरालगायतका पदाधीकारीहरुले प्रधानमन्त्रीलाई टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरुयोजनासहित स्मार्ट सिटी निर्माणका लागि पहल गर्न माग गरिएको छ । टीकापुर–५ दौलतपुरस्थित सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माणको लागि पहल गर्न, टीकापुरमा विमानस्थल सञ्चालनका लागि पहल गर्न, बेलुवाबाट भजनी नगरपालिका जोड्ने पथरैया नदीमा पक्की पुल निर्माणको पनि माग राखिएको छ ।

टीकापुर बसपार्कदेखि पार्क जाने बाटो ढल निकाससहित कालोपत्रे निर्माण, बाहिरी चक्रपथ निर्माण, प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर कार्यालयको पुनःस्थापना र टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको 
छ ।

‘टीकापुरमा समृद्धिका धेरै सम्भावना छन’ रञ्जिताले भनिन । ‘हामीले ती सम्भावनाहरूलाई टेकेर टीकापुरको विकास गर्न चाहन्छौं ।’ प्रधानमन्त्री प्रचण्डले टीकापुरको विकासका लागि आएको ज्ञापनपत्र अनुसार काम अगाडि बढाउन निर्देशन दिएका थिए ।