Skip to main content

सुदूरपश्चिमबाट संकटमा सत्ता गठबन्धन, आज के होला ?

Submitted by editor on
शिवराज भट्ट
बहुमत सद

धनगढी : नयाँ गठबन्धन बनेको केही महिनामै संकटमा परेको छ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनको साथ छोडेपछि, संघमा पनि गठबन्धनमा खटपट भएको संकेत गरेको छ । 

आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादब र समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच सुदूरपश्चिममा सरकार बनाउने बारे बालुवाटारमा छलफल भएको थियो । त्यो छलफलमा सुदूरपश्चिम नागरिक उन्मुक्तिलाई दिने प्रस्ताव आउने वित्तिकै माधव कुमार नेपाल बैठक छोडेर हिडेका थिए । 

त्यसपछि बैठकको कुरा उनले सुदूरपश्चिमका आफुनो पार्टीका प्रदेश सभा सदस्यहरुलाई ‘सेयर’ गरे । परिणाम स्वरुप समाजवादीका ४ जना प्रदेश सभा सदस्यहरु काँग्रेसले नेतृत्व गरिरहेको नयाँ गठबन्धनतिर लागे । ‘नेपाल कै संकेत पाएपछि सुदूरपश्चिममा समिकरण तलमाथि भयो, समाजवादी सत्ता गठबन्धनमा हो की बाहिर हो भन्ने कुरा नै पक्कापक्कि भएन’ एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले भने ।

आईतबार ५ बजेसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने अन्तिम समय थियो ।  त्यो अन्तिम समयमा समाजवादी,  काँग्रेस र रेशम समुहको उन्मुक्तितिर ढल्कियो  । समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ बहादुर सोडारी आफै प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफ्नो समर्थन काँग्रेस, उन्मुक्ति (रेशमपक्ष) गठबन्धनमा रहेको दाबी गरे ।

त्यसैमा नागरिक उन्मुक्ति पार्टीबाटै मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि त प्रदेश प्रमुख पनि अन्यौलमा परेका छन । एकै पार्टीका दुई वटा दाबी परेपछि प्रदेश प्रमुखले मंगलबारसम्मको समय मागेर टुंग्याउने मुड बनाएका छन । 

मुख्यमन्त्री नदिएको झोंकमा नेकपा एकीकृत समाजवादीले काँग्रेस र उन्मुक्तिको रेशम पक्षलाई सहयोग गरेको हो हो  । आईतबार नेपाली काँग्रेस, उन्मुक्तिको रेशम चौधरी समुह, समाजवादी र राप्रपाले मुख्यमन्त्रीमा उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाए पछि सत्ता गठबन्धन नै धरमराएको छ ।

समाजवादीले आफ्नो भागमा परेको मुख्यमन्त्रीको पद शीर्ष नेताहरुले काटेको आरोप लगाएको छ । ‘हामीलाई दिईएको पद काटियो, हामी सरकार बनाउनका लागि मात्रै चाहिने, तर गठबन्धनका शीर्ष नेताहरुले हामीलाई ‘युज एण्ड थ्रो’ को ब्यवहार देखायो’ समाजवादीका एकजना नेताले भने । ‘उन्मुक्तिलाई मुख्यमन्त्री दिने भनिएको थियो, हामीले पनि उन्मुक्तिकै लक्ष्मण किशोर चौधरीलाई त समर्थन गरेका छौं ।’

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा काँग्रेसका एक जना प्रदेश सभा सदस्यको निधन भएकाले अहिले ५२ जना प्रदेश सभा सदस्य छन । सरकार बनाउनका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन । एक वर्षदेखि सत्तामा रहेको ठुलो दल काँग्रेसले गठबन्धनको सरकार बनाउन नदिने हरसंभव प्रयास गरिरहेको छ । उसले आईतबार विभाजनको संघारमा रहेको उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका लागि अगाडी मात्रै सारेन, नेकपा एकीकृत समाजवादीलाई पनि गठबन्धनबाट अलग पारिदियो । 

‘संसदमा हामी ठुलो दल मात्रै होईनौं, अरु पार्टी भन्दा झण्डै दोब्बर ठुलो दल हौं, हाम्रो दाबी सरकार बनाउने रहन्छ नै । अहिले उन्मुक्ति र समाजवादी पनि हामीसँग आएका छन । अब सुदूरपश्चिममा नयाँ प्रयोगगर्दै स्थाई सरकार बन्छ’ मुख्यमन्त्री समेत रहेका नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने । 

गठबन्धनका दलहरुले प्रदेशहरुको भागबण्डा भईरहेका बेला सुदूरपश्चिम समाजवादीका भागमा पारिएको थियो । समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्न दौडधुपमा थिए, तर सरकार बनाउन निर्णयक रहेको उन्मुक्तिले सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गरेपछि शीर्ष नेताहरुले समाजवादीको भाग काटेका हुन । 

तर समाजवादीको प्रदेशको दललाई त्यो कुरा मन परेन । समाजवादीले काँग्रेर उन्मुक्तिको रेशम पक्षलाई समर्थन जनाएपछि लक्ष्मण किशोरले मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन । लक्ष्मण किशोरले काँग्रेसका १८, उन्मुक्तिका ७, समाजवादीका ४ र राप्रपा १ गरी आफुसँग ३० जनाको समर्थन रहेको दाबी गरेको छ । 

तर नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि आफुसँग माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र जना गरी २९ जनाको समर्थन रहेको भन्दै प्रदेश प्रमुख नजीर मीया समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका छन । कैलाश चौधरी उन्मुक्तिकी अध्यक्ष रञ्जीता पक्षका हुन । रञ्जीताले कारवाही गरेकी प्रदेश सभा सदस्य ईन्दा गिरिले अन्तरिम आदेश ल्याएर प्रदेश सदस्य कायमै रहेको अवस्थामा अहिले रेशमको पक्षमा ५ जना र रञ्जीताको पक्षमा २ जना प्रदेश सभा सदस्य देखिएका छन ।

एकै पार्टीबाट २ जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख नजीर मिया भने सकसमा परेका छन । दुबैको दाबीमा नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी पेश भएपछि, झन अन्यौलता छाएको छ । 

घनश्याम चौधरी संसदीय दलका नेता हुन । रञ्जीताले केही दिन अघि उनलाई संसदीय दलको नेताबाट हटाएर कैलाश चौधरीलाई नेता तोकिन । दुबै जनाले संसदीय दलको नेताको हैसियतमा दाबी पेश गरेकाले पनि प्रदेश प्रमुख अन्यौलमा परेका हुन । तर प्रदेश प्रमुख नजीर मीयाले भने मंगलबार सम्म भौतिक रुपमा सनाखत गरेरै भएपनि निकास दिने मुड बनाएका छन ।

समाजवादी नभए बन्दैन सत्ता गठबन्धनको सरकार
नेकपा एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन । नयाँ सत्ता गठबन्धनमा उ नभए सरकार बन्दैन । सत्ता गठबन्धनमा माओवादीका समामुख सहित ११ जना, एमालेका उपसभामुख सहित १० जना, नागरिक उन्मुक्तिका ७ जना भएपनि, सत्ता गठबन्धनको पक्षममा २ जना मात्रै देखिएका छन । यसमा समाजवादीका ४ जना र स्वतन्त्र १ जना भएपछि मात्रै सरकार बनाउनका लागि २७ प्रदेश सभाको बहुमत पुग्छ । सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ जना प्रदेश सभा सदस्यको संख्या आवश्यक हो ।

समाजवादी सत्तामा कि सत्ता बाहिर ?

नेकपा एकीकृत समाजवादी अहिले सत्तामा हो वा बाहिर ? प्रश्न उठन थालेको छ । सत्तामा हो भने उसले सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका उन्मुक्तिकै कैलाश चौधरीको पक्षमा समर्थन गरेन । सत्ता बाहिर हो भने संघमा उसले सत्ताबाट बाहिरिएको औपचारिक निर्णय गरेको छैन । सत्ता पक्षकै प्रदेश सभा सदस्य धर्मराज पाठक भन्छन, ‘समाजवादीमा पदको उत्कन्ठ ईच्छा देखियो । उ सत्ता गठबन्धनमा हो भने मंगलबारसम्म उसले गठबन्धनको उमेदवारलाई समर्थन गर्नुपर्छ ।’

तर सोमबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा दिएको प्रतिक्रियाले पनि समाजवादी सत्तामा बस्ने छाँटकाँठ भने देखिदैन । ओलीले, समाजवादीले जहिले पनि यस्तै हर्कत देखाएको भन्दै उसलाई दक्षिणपन्थी अवसरबादको संज्ञा दिएका थिए ।


पार्टी ठुलो की संसदीय दल
अहिले सुदूरपश्चिममा नागरिक उन्मुक्तिको विवाद पछि पार्टी ठुलो की संसदीय दल भन्ने प्रश्न उब्जिएको छ । किनकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता चाधैरीले गरेका हरेक निर्णय उनकै पार्टीको संसदीय दलले मानिरहेको छैन ।  

नागरिक उन्मुक्ति पार्टीभीत्र बहुमत सदस्यहरुले घनश्याम चौधरीलाई संसदीय दलको नेता बनाएका थिए । रेशम र रञ्जीताको सरकारमा जाने वा नजाने विवाद चर्किएपछि घनश्याम रेशमको पक्षमा उभिए । रञ्जीताले उनलाई कमल बहादुर शाह नेतृत्वको सरकारमा नजान निर्देशन गरिन, तर उनले मानेनन । सरकारमा गएपछि फिर्ता हुने निर्देशन गरिन, तर उनले मानेनन । अहिलेसम्म उन्मुक्ति सरकारमै छ ।

सरकारमा गएकाहरुको कारवाही सिफारिस गर्न भनिन तर उनले मानेनन । छलफलका लागि पटक पटक उनले बैठकमा बोलाईन, तर घनश्याम गएनन । त्यसपछि रञ्जीताले उनलाई केही दिन अघि संसदीय दलको नेताबाट हटाएर कैलाश चौधरीलाई संसदीय दलको नेता तोकेको जानकारी सभामुखलाई पत्र लेखेरै गराईन । 

तर सभामुखले घनशयाम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन सकेका छैनन । यद्यपी सभामुख भीम बहादुर भण्डारी नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य हुन । राजनीतिक दल सम्बन्धि ऐनमा पार्टीले संसदीय दलको नेता परिवर्तन गर्नसक्ने प्रावधान छैन । त्यसैले पनि सभामुख भण्डारीले धनश्यामलाई दलको नेताबाट हटाउन सकेका छैनन ।

निर्वाचन आयोगका कानून उपसचिव यज्ञ प्रसाद भट्टराई भन्छन, ‘पार्टीकै निर्देशनमा दलको नेता पनि चुनीने हो । तर दलले दलको नेता परिवर्तन गर्ने कुरा ऐनमा भने ब्यवस्था छैन । यसको मतलब दल केही पनि होईन भन्न सकिदैन ।’

रञ्जीताले कमल बहादुर शाह नेतृत्वको सरकारमा सहभागि भएको भन्दै समानुपातिक सांसद ईन्द्रा गिरिलाई पदबाट हटाएको पत्र सभामुखलाई पठाईन । सभामुख भीम बहादुर भण्डारीले उनलाई पदमुक्त भएको सूचना संसद सचिवालयको सूचना पाटीमा टाँस पनि गरे । तर ईन्द्राले सर्वोच्चमा रिट हालिन । ईन्द्रालाई आईतबार सर्वोच्चले अल्पकालिन आदेश दिएर पुर्नबहाली गरिदिएको छ । 

स्रोत भन्छ ‘यो रञ्जीताका लागि पहिलो झडका हो । उनी ईन्द्रा गिरिको ठाउँमा आफ्नो ‘फेवर’ को ब्यक्ति बनाउन चाहन्थिन, उनी बहुमत आफुतिर पार्न चाहन्थिन, तर सम्भव भएन ।’ ईन्द्राको पुर्नबहाली पछि घनश्यामलाई दलको नेताबाट हटाउन सभामुख भण्डारी पनि हिच्किचाई रहेका छन ।