धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सत्तासमिकरण बम एकताकोे अभ्यास नभएको बताएका छन । आज धनगढी विमानस्गलमा पत्रकारहरुसँगथ कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।
‘यो राजनीतिक सत्ता समिकरण हो, यसमा बामपन्थी मात्रै छैनन, त्यसैले यसलाई बामएकताको अभ्यास भन्न मिल्दैन । राम्रो समझदारी बन्दै गयो भने भविष्यमा बामएकता पनि हुनसक्छ’ प्रधानमन्त्री दाहालले भने ।
सत्ता समिकरणमा समाजवादीको फरक मतका बारेमा गरिएका जिज्ञासामा उनले वर्तमान सत्ता समीकरण पूरा अवधि जाने दाबी गरे । ‘यो गठबन्धन अबको चार वर्ष पुरै जान्छ, यसमा तपाईहरु ढुक्क हुनुुस तर माधव जीका बारेमा मलाई धेरै बोल्न नलगाउनुस’ दाहालले भने । उनले राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या नभएको बताए ।
प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताए । ‘नीति तथा कार्यक्रम तयार नै भईसक्यो, बजेट बन्ने तयारीमा छ । यसपालीको नीति तथा कार्यक्रम र बजेट परम्परागन हुदैन । वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको छ’ दाहालले भने ।
पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको बताए । साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।
‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवर्द्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ’, उनले भने । ‘लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।’
प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैँले आयोजना गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री दाहाल सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहका लागि कञ्चनपुर पुगेका छन ।