बझाङ : बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(१) मा बैशाख १५ गते हुने निर्वाचनको तयारी सकिएको छ । ९३ मतदान केन्द्रका लागि ४६५ कर्मचारी परिचालन गरिएका छन ।
सबै मतदान केन्द्रका कर्मचारी निर्वाचन सामाग्री सहित मतदानस्थलमा पुगिसकेका निर्वाचन आयोगले जनाएको छ ।बुधबार राती १२ बजेदेखि मौन अवधी सुरु भएकाले प्रचारप्रसार बन्द भएको छ ।
वैशाख १५ गते हुने मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीहरू निर्वाचन खर्च र सामग्रीसहित मतदान केन्द्र र मतदान स्थलमा पुगिसकेका छन ।
निर्वाचन क्षेत्रभरी १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन । उप निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । उपनिर्वाचनलाई शान्त र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
७४ मतदान स्थलमा रहेका ९३ मतदान केन्द्रमा ३१ हजार ५४९ पुरुष र ३० हजार १९९ महिला गरी कुल ६१ हजार ७४८ मतदाताले मतदान गर्नेछन । जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले शनिवार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएसँगै सबै केन्द्रमा कर्मचारी पुगेको बताए ।
बझाङमा ठूला साना दलका गरी ११ जना उमेदवार चुनावी मैदानमा छन । शनिवार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने हुने र निर्भयका साथ मतदानमा भागलिन आयोगले अपिल गरेको छ ।