धनगढी : कैलालीको धनगढीमा मोबाइल पसलबाटै प्रहरीले अबैध सामान जफत गरेको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगर रोडमा रहेको मोबाइल पसलबाट दुई लाख ५० हजार मुल्यका अबैध सामान प्रहरीले जफत गरेको हो ।
प्रकाश अग्रवालले सञ्चालन गरेको एपेक्स वल्र्ड मोबाइल सहायक पसलबाट बिना विलका मोबाइलका पार्टपुर्जाहरु प्रहरी नियन्त्रणमा लिएको छ । हिजो (विहिबार) मात्र कैलाली प्रहरीले १० लाख ८९ हजार एक सय ६० मुल्यका अबैध सामान आफ्नो नियन्त्रणमा लिएको छ । धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट एक लाख ६८ हजार ९ सय मुल्यको पाँच सय ६३ पीस लेडिज कुर्ती प्रहरीले जफत गरेको छ ।
धनगढी उपमहानगरपालिका–२ एभरेष्ट बैंक नजिकको भित्रि सडकबाट ६ लाख ३० हजार मुल्यको चार सय २० पीस लेडिज सुट बरामद गरिएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट दुई लाख मुल्यका अबैध मोबाइल र कैलारी गाउँपालिका–३ मोहनपुर जंगलको छेउबाट १६ हजार मुल्यको १६ वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता भजनी नगरपालिका–८ छछरुवाबाट १० हजार मुल्यको अबैध २० किलोग्राम सिद्रा माछा, गोदावरी नगरपालिका–५ गेटाबाट ९ हजार पाँच सय मुल्यको एक थान साइकल र एक सय किलोग्राम प्याज तथा धनगढी उपमहानगरपालिका–७ बेली बजारबाट चार हजार ७ सय ६० मुल्यको अबैध ४५ किलोग्राम चिनी, पाँच पाकेट विडी र चार पाकेट सुपरपावर सुर्ती बरामद गरेर भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।