Skip to main content

कैलालीको गौरीगंगा नगरपालिकाद्वारा मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन

Submitted by editor on
ईबिगुल संवाददाता
मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको पाईएको छ । उसले वडा नम्बर ३ मा रहेको शिवगंगा नदीमा डोजर लगाएर नदीजन्य पदार्थ उत्खनन गरिरहेको हो ।

नगरपालिकाले डोजर र से १ ग १२४ र से १ ग १२५ नम्बरको टिप्पर प्रयोग गरेर मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको छ । वडा नम्बर ३ को कार्यालयले ग्राभेलका लागि महेन्द्र राजमार्गको शिवगंगा पुलदेखि पाँच समय मिटर दक्षिणबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने काम गर्दै आएको छ ।

वडा नम्बर ३ का सडकहरूमा ग्राभेल गर्न थालिएको वडासदस्यसमेत रहेका स्थानीय हरिराम आर्चायले बताए । उनले भने, ‘वडाका सडकहरूमा ग्राभेल गर्न खनेका हौँ । असार पनि सुरु हुँदैछ । बर्खामा हिलो हुन्छ । हतार–हतारमा काम गर्दैछौ । महेन्द्र राजमार्गबाट पाँच सय मिटर तल खन्न पाउने भनियो । त्यही कारणले मैले नै खन्न भनेको हुँ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जिल्ला समन्वय समितिहरू र स्थानीय तहहरूलाई पठाएको मापदण्ड विपरीत गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थको दोहन गर्दै आएको छ । 

जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुषालले गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेललाई फोन गरेपछि डोजरसहितका टिप्पर पुलबाट एक किलोमिटर तलको दुरीमा लगिएका छन । नगर प्रमुख कडेलले वडाका जनप्रतिनिधिहरू, डोजरका चालक र टिप्परका चालकहरूलाई मापदण्डको विषयमा जानकारी नभएकाले यस्तो भएको बताए ।