Skip to main content

प्रहरीद्वारा धनगढीमा गोरुगाडा सहित चार जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
काठ तस्करी

धनगढी : कैलालीमा काठको तस्करी बढेको छ । प्रहरीले काठ तस्करीमा संलग्न चार जनालाई गोरुगाडासहित पक्राउ गरेको छ । आईतबार अबैध काठ बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१६ त्रिनेत्र सामुदायिक वनबाट काठ तस्करी भइरहेको अवस्थामा प्रहरीले तस्करीमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । 

धनगढी–१६ का ३२ वर्षीय अशोक चौधरी, ४१ वर्षीय धानिराम चौधरी, २० वर्षीय राहुल चौधरी र ५७ वर्षीय मनिराम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले तस्करीको काठसहित दुईवटा गोरू गाडा (डल्लब) पनि नियन्त्रणमा लिएको छ । गोरु गाडामा तस्करीको काठ ओसारपसार गरी रहेको अबस्थामा ४० दशमलव २५ क्युफिट अबैध सालको काठ अस्थायी प्रहरी पोष्ट बेहडाबाबा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको काठ आवश्यक प्रक्रिया पुरा गरेर अबैध काठसहितको गोरु गाडा र संलग्नहरुलाई कारवाहीका लागि सव–डिभिजन वन कार्यालय फुलवारीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।