Skip to main content

२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना सरकारको प्राथमिकतामा

Submitted by editor on
प्रताप ओली
चैनपुर सेती जलविद्युत

बझाङ  : बझाङको चैनपुर सेती जलविद्युत आयोजना बजेटको प्रार्थमिकतामा परेको छ । २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनालाई बजेटमा प्राथमिकतामा पारिएको हो । केही समयअघि मात्रै सम्भाव्यता अध्ययन सम्पन्न गरि जग्गा अधिग्रहणसहित टनेल निर्माणको काम सुरु भएको यो आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने छ । 

महत्वाकांक्षी आयोजनाका रूपमा अघि सारिएको यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्तीमा निर्माण हुने भएको हो । यो आयोजनाको १३ किलोमिटर लामो सुरुङमार्ग पनि रहेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २ सय १० मेगावाट क्षमताको यो आयोजनाको मुख्य सुरुङमा जान निर्माण हुने तीन वटा अडिट टनेल मध्ये तलकोट गाउँपालिका–३ रुमाली गाडमा एउटा र बस्टीमा २ वटा रहनेछन् । 

यो आयोजना निर्माणका लागि प्राधिकरणले एक सय ३२ रोपनी जग्गा अधिकरण गरेको छ भने थप १५ रोपनी अधिकरणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । यसअघि नै विद्युतगृह जाने अढाई किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ । यही महिनाभित्र कार्यालय तथा आवासीय भवनहरु निर्माणका लागि बोलपत्र आव्हान गर्ने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

सुख्खा याममा समेत दैनिक कम्तिमा ६ घण्टा २१० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रूपमा यसलाई अगाडि बढाउन लागिएको आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए ।  निमार्ण कार्य सुरु गरेको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनामा बैंकको ब्याजबाहेक ३६ अर्ब ५४ करोड लागत अनुमान गरिएको छ ।