Skip to main content

शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुगाएको भन्दै धनगढी उपमहानगर सम्मानित

Submitted by editor on
ईबिगुल संवाददाता
सम्मान

धनगढी : शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट योगदान पुगाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकालाई सम्मान गरिएको छ।

प्रिन्सिपल एशोसियशन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी योगदान गरेको भन्दै उपमहानगरपालिकालाई सम्मान गरिएको हो । यही जेठ २६ गतेदेखि सुरु भएको प्रिन्सिपल एशोसियशन अफ नेपालको राष्ट्रिय सम्मेलनमा धनगढी उपमहानगरपालिकालाई आज (शनिबार) सम्मान गरिएको छ ।

सम्मेलन २८ गतेसम्म चल्नेछ। शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुगाएको आधारमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा धनगढीलाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ । धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाले सो सम्मानपत्र ग्रहण गरेकी छन ।

उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न काम सुरु गरिसकेको छ। धनगढीमा शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकलाई आवश्यक तालिम दिनेदेखि कक्षामा विद्यार्थी नियमित रुपमा हाजिरी भए÷नभएको विषयमा पनि जानकारी लिने र आवश्यक सुधार गर्ने प्रयास गर्दै आएको छ ।

उपमहानगरपालिकाले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ नै स्थापना गरेर शिक्षामा सुधार ल्याउने प्रयास थालेको छ। उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ। ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरेको छ । कोषमा विभिन्न व्यक्ति एवं संघसंस्थाले सहयोग समेत गर्न थालेका छन्।