Skip to main content

सुदूरपश्चिममा सात मन्त्रीले लिए सपथ, स्वतन्त्र सांसदद्वारा मन्त्री पद बहिस्कार

Submitted by editor on
शिवराज भट्ट
मन्त्रीमण्डल विस्तार


धनगढी : सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले एमालेका ३, माओवादीका ३ र समाजवादीका १ गरी ७ जना मन्त्री थपेका हुन । योसँगै सुदूरपश्चिममा १० सदस्यीय मन्त्रीमण्डल बनेको छ । 

सरकार गठन भएको ५४ दिनपछि मन्त्रीमण्डल विस्तार गरिएको हो । प्रदेश सभामा पाँचौ दलका रुपमा रहेको नेकपा एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमाले सरकारमा जान तयार नभएको र माओवादीभीत्र मन्त्री कसलाई पठाउने भन्ने कुरामा विवाद भएपछि मन्त्रीमण्डल विस्तार हुन सकिरहेको थिएन । 

प्रदेश प्रमुख नजीर मीयाले सोमबार अपरान्ह नेकपा एमालेका ३ जना, माओवादीका ३ जना र समाजवादीका १ जना गरी ७ जनालाई सपथ गराए । नियुक्त भएका मध्ये ५ जना विना बिभागिय मन्त्री बनाइएका छन । माओवादीका ओमविक्रम भाटलाई सामाजिक विकास र एमालेका सुरेन्द्र सिह पाललाई आर्थिक मामिला मन्त्रालय दिईएपनि अरुलाई मन्त्रालय तोकिएको छैन । 

एमालेबाट सुरेन्द्र बहादुर पाल, बिरबहादुर थापा र हिरासिंह सार्की, माओवादीबाट ओमविक्रम भाट, अक्कल रावल र लक्ष्मी विक, समाजवादीबाट माया पन्त मन्त्री नियुक्त भएका हुन । मुख्यमन्त्री सोडारीले संविधानको परिधिभीत्र रहेर मिल्ने आकारमै मन्त्रीमण्डल बनाएको बताए । 

तर मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका स्वतन्त्र सांसद डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय दिने भनिएपनि उनले मन्त्रालय विभाजन भएर मन्त्री नखाने भन्दै सपथ लिएनन । उनलाई अहिले मन्त्रालय दिने र पछि त्यो मन्त्रालय विभाजन गर्ने भनिएको थियो । ‘मलाई विभाजन गरेर मन्त्री बन्ने लागेन, अनी सपथमा गएन’ जोशीले भने ।

सोडारीले यसअघि नाउपाको रञ्जीता पक्षका कैलाश चौधरीलाई पुर्वाधार विकास मन्त्री र टीका थापालाई भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री बनाई सकेका छन । ७ जना मन्त्रीले सपथ लिएपनि माओवादीका ५ जना प्रदेश सभा सदस्यहरुले सल्लाह नगरी मन्त्रीको नाम पठाएको भन्दै विरोध गरेका छन । माओवादीका प्रदेश सभा सदस्य खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्त विज्ञप्ती प्रकासित गर्दै मुख्यमन्त्री सोडारीको ध्यानाकर्षण गराएका हुन ।