Skip to main content

धनगढी उपमहानगरले ल्यायो सवा २ अर्वको बजेट

Submitted by editor on
‘हाम्रो धनगढीः हामी बनाउँछौ’ अभियानका साथ ‘हाम्रो धनगढी : सफा धनगढी’ अभियानलाई प्राथमिकता दिँदै उपमहानगर क्षेत्रभित्र अतिक्रमणमा रहेका तालतलैया, खोलानाला, जग्गा लगायत सार्वजनिक सम्पत्तिलाई पुरानै अवस्थामा फर्काउन बजेटमा कार्यक्रम समावेश गरिएको छ ।
ईबिगुल संवाददाता
धनगढीले आगामी आर्थिक वर्षको बजेट

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ लागि कुल २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको हो । हाम्रो धनगढीः हामी बनाउँछौँ भन्ने अभियानलाई मन, बचन र कर्मले निरन्तरता दिँदै ‘सुख, शान्ति र सम्वृद्धसहितको सहरः कल्याणकारी धनगढी उपमहानगर’ बनाउने दिर्घकालिन सोचसहित आगामी आर्थिक वर्षको बजेट धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले सार्वजनिक गरेकी हुन् ।

‘हाम्रो धनगढीः हामी बनाउँछौ’ अभियानका साथ ‘हाम्रो धनगढी : सफा धनगढी’ अभियानलाई प्राथमिकता दिँदै उपमहानगर क्षेत्रभित्र अतिक्रमणमा रहेका तालतलैया, खोलानाला, जग्गा लगायत सार्वजनिक सम्पत्तिलाई पुरानै अवस्थामा फर्काउन बजेटमा कार्यक्रम समावेश गरिएको छ ।

त्यस्तै ‘हाम्रो चाहना उपमहानगरवासीको सु–स्वास्थ्यको कामना’ भन्ने नारालाई अभियानको रुपमा सञ्चालन गरेर स्वास्थ्य तथा शिक्षा लगायत आधारभुत आवश्यकतामा नगरवासीको पहुँच स्थापित गराउने विषय बजेटमा उल्लेख छ। त्यस्तै गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमार्फत उपमहानगरलाई ‘बसोबास योग्य हरित सहर ः सम्मुन्नत धनगढी उपमहानगर’ को रुपमा विकास गर्ने विषयमा पनि बजेटमा उल्लेख गरिएको छ ।

नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘एक वडा एक नमुना विद्यालय’ विकास गर्ने कार्यलाई निरन्तरता दिँदै समग्र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा अभिवृद्धि गरिने गरे उपमहानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । उपमहानगरले आगामी आर्थिक वर्षको बजेट आय र व्ययको रकम बराबर हुने गरी विनियोजन गरिएको छ ।

उपमहानगरपालिकले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कुल २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँका अनुमानित बजेट प्रस्तुत गरेको छ। जसमध्ये कुल खर्चमा चालुतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ र पूँजीगततर्फ ९८ करोड २६ लाख ८८ हजार १०२ रपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

आयततर्फ आन्तरिक आय ३६ करोड ६९ लाख ७६ हजार ६६५, राजस्व बाँडफाँड अन्तर्गत आयमा ४८ करोड २९ लाख ५४ हजार ७८५, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) एक अर्ब एक करोड ८७ लाख २६, अन्तर सरकार वित्तीय हस्तन्तरण (प्रदेश सरकार) ८ करोड २८ लाख २८ र सरी आएको मौज्दात २३ करोड २७ लाख ४६ हजार ७७० गरेर कुल २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २३० रुपैयाँ बजेट प्रस्तुत गरिएको हो।

त्यस्तै व्ययतर्फ चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७, पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार १०२, कुल खर्च दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० बजेट प्रस्तुत गरिएको छ। त्यस्तै क्षेत्रगत विकास अन्तर्गत आर्थिक विकासतर्फ ६ करोड ६ लाख ३१ हजार, सामाजिक विकासतर्फ एक अर्ब १५ लाख ७७ हजार १६ रुपैयाँ, पूर्वाधार विकासतर्फ ६० करोड ७९ लाख ८६ हजार १०६ रुपैयाँ विनियोजन गरिएको छ। सु–शासन तथा अन्तर सम्वन्धिततर्फ १८ करोड ५२ लाख ३१ हजार विनियोजन गरिएको छ। त्यस्तै कार्यालय सञ्चनलनतर्फ ३१ करोड ६३ लाख ७ हजार ९८ रुपैयाँ छुट्याएको छ ।