Skip to main content

मुख्यमन्त्री सोडारीलाई राजीनामा गरेर नयाँ सरकार गठनमा सहज पार्न एमाले काँग्रेसको आग्रह

Submitted by editor on
ईबिगुल संवाददाता
काँग्रेस र एमाले

धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिने सहमति भएसँगै सुदूरपश्चिममा पनि सरकार परिवर्तनको तयारी सुरु भएको छ । काँग्रेस र एमालेको संसदीय दलले समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनमा सहजिकरण गर्न आग्रह गरेका छन । 

प्रारम्भिक मस्यौदामा एमालेले कोसी, लुम्बिनी र कर्णाली, कांग्रेसले बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने उल्लेख छ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरिसकेका छन । 

सुदूरपश्चिम काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाको पनि गृह प्रदेश हो । देउवाले सुदूरपश्चिमको डडेल्धुराबाट अपराजित रुपमा चुनाव जित्दै आएका छन । सुदूरपश्चिम काँग्रेसको भागमा पर्ने भएपछि, काँग्रेसका नेताहरु हौसिएका छन । 

सुदूरपश्चिममा यसअघि पनि काँग्रेसको नेतृत्वमा सरकार बनेको थियो । काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री थिए । उनलाई, नागरिक, माओवादी, समाजवादी र उन्मुक्तिको समर्थन थियो । तर एमाले माओवादीको गठबन्धन भएपछि उनले राजीनामा दिएका थिए । काँग्रेसले सुदूरपश्चिममा कमल बहादुर शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने बताएको छ । 

५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८ र एमालेका ११ गरी २९ जना प्रदेश सभा सदस्य छन । बहुमतका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ । सुदूरपश्चिममा दुबै दलको स्पष्ट बहुमत पुग्छ । 

मंगलबार राति कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीच संयुक्त सरकार बनाउने विषयमा छलफल भएको छ ।

हाल सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन ्। सुदूरपश्चिममा मुख्यमन्त्री चयनको विषयलाई लिएर सुरुवात देखिनै एमाले र एकीकृत समाजवादीबीच खटपट छ ।

छलफलमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने सल्लाह भएको एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले बताए । उनले केन्द्रमा नयाँ गठबन्धन बनिसकेकाले प्रदेशमा पनि सकारात्मक छलफल भएको बताए ।

सोडारीले राजीनामा नदिए एमालेले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । सुदूरपश्चिममा माओवादीका ११, एकीकृत समाजवादीको ४, नागरिक उन्मुक्तिका ७ सिट छन । स्वतन्त्र र राप्रपाको एक–एक सिट छ ।