Skip to main content

राजीनामा दिएर सरकार गठन प्रकृयामा सघाउन मुख्यमन्त्रीलाई नयाँ गठबन्धनको सुझाव

Submitted by editor on
शनिबार संसद सचिवालयमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन ।
ईबिगुल संवाददाता
संयुक्त पत्रकार सम्मेलन

धनगढी : नयाँ गठबन्धनमा आबद्ध दलहरुले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रकृयामा सहजीकरण गर्न आग्रह गरेका छन । 

शनिबार संसद सचिवालयमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन ।

‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन । उनले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । अल्मतमको सरकारले केही ठुला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं’ नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादर शाहले भने ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा), प्रमुख सचेतक बीर बहादुर थापा पातल, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता रहेको थियो ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँग सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नयाँ गठबन्धन बनेपछि असार १ गते पेश भएको बजेटमाथिको छलफल हुन सकेको छैन ।