Skip to main content

साना दल पनि सरकारमा आउने भएपछि कांग्रेस–एमालेको मन्त्रालय संख्या कटौति

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
मन्त्रालय घट्ने

काठमाडौं : सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्यमा छन् ।

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दैछन् । प्रधानमन्त्रीसँग मन्त्रीहरूको पनि शपथ गराउने कांग्रेस–एमालेको तयारी छ ।

साना दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले भने, ‘छलफल चलिरहेको छ। साँझसम्ममा सबै टुंगिन्छ । हामी सरकारको दायरा फराकिला बनाउने प्रयास गर्दैछौ। कुन कुन दल सहभागी हुन्छन् भन्ने साँझसम्ममा टुंगिन्छ ।’

साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्ने गरी छलफल अघि बढेको उनले बताए ।

जसपा, जसपा नेपाल, लोसपा, जनमतलाई सरकारमा सामेल गर्नेबारे छलफल भइरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार अहिलेसम्म १७ मन्त्रालयमा कांग्रेस एमालेबीच भागबण्डा मिलिसकेको छ । उनले भने, ‘२१ ओटा मन्त्रालयमा अहिले १७ मन्त्री बनाउने सहमति भइसकेको छ । साना दललाई चार मन्त्रालय राख्ने भन्ने छ ।’ 

कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो। दुई दलबीच एक–एक जना उपप्रधानमन्त्री राख्ने सहमति भएको बताइन्छ ।

कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्दैछन् भने एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बन्ने सम्भावना छ ।