Skip to main content

दार्चुलाको शैल्यशिखरका कृषि अधिकृत सहितका २ जनाबाट साढे ५० लाखका चेक बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
५० लाख बढी रकमको चेक

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृत धामीसहित २ जना कर्मचारीसँग ४ लाख १२ हजार रुपैयाँसँगै ५० लाख बढी रकमको चेक समेत फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक (जेटीए) अशोकसिंह धामीलाई सोमबार ४ लाख १२ हजार रुपैयाँ घुस लिँदालिदैँ पक्राउ गरेको थियो ।

कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशनवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीबाट पक्राउ गरेको हो ।

दुबै जनाले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा र सो बाहेक उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र जेटीए धामीको नाममा काटिएको २ लाख ५० हजारको २ वटा गरी ५० लाख ६० हजारको चेकसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

अख्तियारको टोलीले हिजो (सोमबार) मोहन र अशोकले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पक्राउ गरेको हो । अख्तियारको टोलीले धामी द्वयलाई ४ लाख १२ हजार घुस रकमको चेकसहित थप ५० लाख ६० हजारको सात थान चेकसहित नियन्त्रणमा लिएको हो ।