Skip to main content

सेवाग्राही भन्छन– कर तिर्छुभन्दा पनि तिर्न नपाउने देश कस्तो होला ?

Submitted by editor on
‘२५ किलोमिटर टाढा बाट आएको, यता आएर पनि मोटरसाईकल नविकरण भएन, बजेट पास नभएकाले कर लिने गरिएको छैन भन्यो, अब सरकारले कर तिर्छु भन्दा पनि नलिने अवस्था आयो । यो सब नेताहरुका कारण त हो नी’ आक्रोसित हुदै शिक्षक चन्द आफ्नो बाटो लागे ।
शिवराज भट्ट
दिपेन्द्र बहादुर चन्द

धनगढी : सेती यातायात ब्यवस्था कार्यालय कैलालीको परिषर, सेतो दाह्री भएका अधबैसे उमेरका दिपेन्द्र बहादुर चन्द असिनपसिन भएर कार्यालय भीत्र पसे । कार्यालयका तीन÷चार कक्षहरुमा उनी छिरे, १५÷२० मिनेटको सोधपुछ पछि उनी निरास भएर बाहिर फर्किदा भेट भयो । 

‘असारको १४ गते मोटरसाईकलको कर तिर्ने समय सकिएको रहेछ, मोटरसाईक नविकरण गरौं भनेर विद्यालयबाट आधा दिनको विदा लिएर आएको तर कर लिनै मानेन’ उनले भने । उनी धनगढी उपमहानरपालिकाको वडा नम्बर १९ मा रहेको शंकर सरस्वती अन्नपूर्ण आधारभूत विद्यालयका शिक्षक रहेछन । 

‘२५ किलोमिटर टाढा बाट आएको, यता आएर पनि मोटरसाईकल नविकरण भएन, बजेट पास नभएकाले कर लिने गरिएको छैन भन्यो, अब सरकारले कर तिर्छु भन्दा पनि नलिने अवस्था आयो । यो सब नेताहरुका कारण त हो नी’ आक्रोसित हुदै शिक्षक चन्द आफ्नो बाटो लागे । 

बझाङको खप्तडछान्ना गाउपालिका वडा नम्बर ३ का जय बहादुर रावल पनि निरास भएर फर्किए । रावलको खप्तड छान्नाका विभिन्न ग्रामीण सडकमा चल्ने बोलेरो जीप (से १ ज ७४३) रहेछ । उनी जीपको रुट पर्मिट (सडक ईजाजत पत्र) बनाउन आएका रहेछन । 

‘डडेल्धुराको यातायात कार्यालयमा गए, एक हप्ता सम्म कर संकलन हुदैन भन्यो । त्यहाँका कर्मचारीले धनगढीमा रहेको यातायातमा गएर केही हुन्छ की भन्ने सल्लाह दिए । त्यहाँबाट धनगढी आए तर यहाँ पनि रोड पर्मिट बनेन’ उनले गुनासो गरे । 

सार्वजनिक सवारी साधनका लागि वर्षमा हरेक चार÷चार महिनामा रुट पर्मिट लिनुपर्छ । कुन रुटमा चलाउने र सवारी साधनको प्रकृती अनुसारको राजश्व तोकिएको हुन्छ । 

‘हरेक चार महिनामा २२ सय रुपैया तिर्नुपर्छ । एक दिन पनि बढी भयो भने त्यसको दोब्बर ४४ सय तिर्नुपर्छ । मेरो गाडीको रुटपर्मिटको अब २ दिन मात्र बाँकी छ । त्यसपछि मैले २२ यको ठाउँमा ४४ सय तिर्नुपर्छ । त्यसपछि पनि हप्ता हप्तामा दोब्बर हुदै जाँन्छ’ उनले गुनासो गरे ।

उनले आफु सरकारलाई बुझाउने राजश्व समयमै तिर्न बझाङबाट आएपनि सरकारले कर नलिएर समस्यामा पारेको गुनासो गरे । ‘अब मैले जरिमाना तिर्नुप¥यो भने त्यसको जिम्मेवार को हुन्छ?’ रावलले प्रश्न गरे । ‘सरकारमा बसेकाहरु निकम्मा भए सर । गरिखानेले पनि गरिखान नपाउने भए ।’

कैलालीकै गोदावरी नगरपालिका २ उत्तरबनखेतका गणेश विकले सोही पालिकाका लोक बहादुर खत्रीबाट मोटरसाईकल किने । उनी शुक्रबार मोटरसाईकल नामसारीका लागि यातायात ब्यवस्था कार्यालय कैलाली पुगे । ‘अहिले हुदैन भन्यो, कहिले हुन्छ भनेर पनि बताएन । खै कति समय लाग्छ हामीलाई नी थाहा हुन्न भन्यो, अन्यौलता पो भयो त सर’ यातायात परिषरमा उनले भने ।

उनलाई राजश्व संकलन किन नभईरहेको भन्ने थाहा समेत थिएन । ‘खै सर सरकारले राजश्व पनि किन लिएन, थाहा भएन । नेताहरुका कारण हो भने । मैले त बुुझेन ।’ विकले भने 
धनगढी उपमहानगरपालिका वडा नम्बर १७ पथरीका अमन चौधरीको विहीबार नै मोटरसाईकल नविकरणको अन्तिम समय थियो । शुक्रबार देखि उनी जरिवानामा परिसकेका छन । ‘म राजश्व बुुझाउन त समयमै आएको छु नी, तर मेरो मोटरसाईकलको नविकरण गरिदिएन, मेरो के गल्ती छ । अब जरिवाना लियो भने ठिक हुदैन भनेर आएको छ’ु यातायात ब्यवस्था कार्यालयका कर्मचारीहरु प्रति आक्रोसा पोख्दै अमनले भने ।

यातायात, मालपोत र स्थानीय तहहरुका कर्मचारी पनि राजश्व बुुझाउन सेवाग्राही आउने र राजश्व नलिएर फर्काउनु परेपछि खिन्न भएका छन । ‘सेवाग्राही आउछन, राजश्व बुुझिदिन भन्छन, बजेट पास भएको छैन । करका दरहरु परिवर्तन भएका छन । कसरी कुन आधारमा कर लिनु ? सेवाग्राही फर्काउदा हामीलाई पनि पिडा भईरहेको छ’ यातायात ब्यवस्था कार्यालय कैलालीका अधिकृत श्याम प्रसाद जोशीले भने ।

कतिपय सेवाग्राहीहरुले कर्मचारीहरुलाई गाली गर्ने र झगडा पनि गर्ने गरेका छन । ‘कतिपय सेवाग्राहीको नविकरणको अन्तिम समय हुन्छ, नविकरण गर्नेहरु समय सकिने लागेका बेला मात्रै आउने त हुन नी, तर राजश्व लिन नपाउदा, उनीहरु जरिवानामा पर्ने भएका छन’ अधिकृत जोशीले भने । ‘सरकारले यस अवधीको जरिवाना मिनाहाको ब्यवस्था गरिदिनुपर्छ ।’