Skip to main content

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि काँग्रेसभीत्र दौडधुप– को होला अबको मुख्यमन्त्री ?

Submitted by editor on
शिवराज भट्ट
काँग्रेसको भागमा

धनगढी : काँग्रेस एमाले सहितका दलहरुको नयाँ सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश काँग्रेसको भागमा परेको छ । सुदूरपश्चिममा साउन १८ गतेपछि काँग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नेछ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारी अल्पमतमा परेको साउन १८ गते ३० दिन पुग्दैछ । 

तर नेपाली काँग्रेसभीत्र अब बन्ने मुख्यमन्त्रीको टुंगो भने लागि सकेको छैन । कमल बहादुर शाह अहिले काँग्रेसको संसदीय दलका नेता छन । झण्डै १४ महिना सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका शाह फेरि पनि मुख्यमन्त्री हुने दौडमा छन । 

अतित हेर्दा काँग्रेसभीत्र कोईराला क्याम्पमा गनिने शाह, नेपाली काँग्रेसको कैलाली जिल्ला अधिवेशनपछि मात्रै देउवातिर ढल्किएका हुन । उनको सहयोगका कारण देउवा क्याम्पका नारायणदत्त भट्ट कैलालीका जिल्ला सभापति निर्वाचित भएपछि उनी देउवा क्याम्पमा ढल्किएका हुन । ‘कैलालीको जिल्ला अधिवेशनमा खेलेको भूमीकाले शाहले मुख्यमन्त्रीको अवसर पाए’ काँग्रेसका एक नेता भन्छन । 

१४ महिने कार्यकालमा शाह खासै विवादित त बनेनन तर प्रदेशको विकासको गतीलाई भने उनले तिब्रता दिन नसकेको आरोप भने लागिरह्यो । कार्यकर्ताहरुले उनलाई प्रदेशका लागि आफु निर्णायक बन्नुभन्दा पनि ‘पावर सेन्टर’ को दबाबमा परेको आरोप लगाउदै आए । 

सुदूरपश्चिम काँग्रेसको भागमा परेपछि शाह फेरि मुख्यमन्त्रीको दौडमा होमिएका छन । ‘अहिलेसम्म पार्टीभीत्र संसदीय दलको नेता परिवर्तन गर्ने कुनै छलफल नै भएको छैन’ पूर्व मुख्यमन्त्री समेत रहेका शाहले भने । ‘हामीले पार्टीको निर्देशन मान्ने हो ।’

तर काँग्रेसका केही सांसद उनलाई यसपाली मुख्यमन्त्री बन्न नदिने दौडमा होमिएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचन जितेका बहादुर सिह थापा पनि मुख्यमन्त्रीको दौडमा देखिएका छन ।

प्रदेशको निर्वाचन लगत्तै, त्यतीबेला संसदीय दलको नेताका लागि जबरजस्त दाबी गरेका थापा भने पार्टी सभापतीकै निर्देशन अनुसार चुप बसेका थिए । ‘म त्यतीबेला पनि संसदीय दलको नेताको दाबेदार हुँ । पार्टी सभापती ज्युले मलाई बस्न भनेपछि मैले उहाँको निर्देशनको पालना गरेको हुँ, यसपाली मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ’ थापाले भने ।

थापा एनपी साउद निकट मानिन्छन । साउदले संघमा मन्त्री नपाएपछि पार्टी सभापती देउवासँग उनले थापालाई मुख्यमन्त्री बनाउन लबिङ गरेको बताईन्छ । ‘पार्टीको ब्यालेन्स मिलाउन पनि मुख्यमन्त्रीमा थापाको दाबी पुग्छ’ एकजना काँग्रेस नेताले भने । ‘अग्रास पलाएन भने संसदीय दलको नेतामा थापाको बमुमत पुग्छ ।’

तर काँग्रेस निकट स्रोतका अुनुसार शाहले आफु मुख्यमन्त्री नबन्ने देखेपछि उनले पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवालाई अगाडि सार्न सक्छन । ‘कमल बहादुर शाहले आफु मुख्यमन्त्री नबन्ने देखेपछि, उनले देउवालाई अगाडि सार्न सक्छन’ स्रोत भन्छन । देउवा यसअघि भौतिक पुर्वाधार विकास मन्त्री भईसकेका हुन । भौतिक पुर्वाधार विकास मन्त्रालयभीत्र उनको राम्रो ‘परफरमेन्स’ छ । 

तर पूर्व भौतिक पुर्वाधार विकास मन्त्री देउवा भने यस बारेमा कुनै छलफल नै सुरु नभएको बताउछन । ‘अहिले नै मुख्यमन्त्री को बन्ने भन्ने कुराको टुंगो लागि सकेको छैन । पार्टी सभापतीले यसबारेमा हामीहरुलाई बोलाउनु नै भएको छैन । उहाँले (पार्टी सभापती) बोलाउनु होला, निर्देशन दिनुहोला । मुख्यमन्त्री बनाउने कुरा पार्टी केन्द्रले नै गर्छ’ पूर्व भौतिक पुर्वाधार विकास मन्त्री देउवाले भने । ‘अहिले बाहिर आएका धेरै कुरा हल्ला मात्र हुन ।’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रत्यक्ष निर्वाचित दिवान सिह विष्ट पनि मुख्यमन्त्रीका लागि लागि परेका छन । उनी कोईराला क्याम्पका नेता हुन । ‘कोईरालाले मागेपनि कोशी प्रदेश माग्लान, सुदूरपश्चिम पार्टी सभापतीको गृह प्रदेश भएकाले पनि विष्टको दाबी खासै पुग्दैन’ काँग्रेसकै एक नेताले भने । ‘शाह, देउवा र थापा मध्ये एक जना मुख्यमन्त्री हुन्छन ।’