Skip to main content

बाढीग्रस्त क्षेत्रमा राहत र मर्मतमा खटिन पूर्वमुख्यमन्त्री रावलको आग्रह

Submitted by editor on
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका रावल नेतृत्वको जनप्रतिनिधिको टोली बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दाको पीडा सुनिरहेको छ ।
ईबिगुल संवाददाता
रावल नेतृत्वको जनप्रतिनिधिको टोली

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले असार तेस्रो साताको अविरल वर्षापछिको बाढी र डुबानले पु¥याएको क्षतिको विवरण लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटासंग छलफल गर्दै क्षतिको विवरण लिएका हुन । रावलले प्रमुख जिल्ला अधिकारी सापकोटासहित सरकारी कार्यालयका प्रमुखसंग बाढी र डुबानको समस्याको दीर्घकालिन समाधान तथा विपदमा राहत, उद्धारको विषयमा छलफल गरेका थिए । 

उक्त छलफलमा सडक, जनताको तटबन्ध, सिँचाई, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकिरण परियोजनालगायत सरकारी कार्यालयका प्रमुखको सहभागीता थियो । बाढी र डुबानले भौतिक संरचना र बालीनालीमा बढी क्षति पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी सापकोटाले सरकारी कार्यालयका प्रमुखलाई एक साताभित्र क्षतिको पूर्ण विवरण पेश गर्न निर्देशन दिएका छन।

उक्त छलफलमा प्रस्तुत गरिएको क्षतिको विवरणअनुसार बाढी र डुबानले २२ विगाह क्षेत्रमा तयार पारिएको पोखरीका माछा नष्ट भएका छन । जिल्लाभर २१३ बाख्रा मरेका छन भने डुबानले धेरै घर, गोठमा क्षति पु¥याएको छ ।

दोधारा चाँदनी, भीमदत्त, बेलडाँडी, वेदकोट, पुनर्वास र बेलौरी नगरपालिकाले बाढी र डुबानले प्रभावित बनेका थिए । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका रावल नेतृत्वको जनप्रतिनिधिको टोली बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दाको पीडा सुनिरहेको छ । रावल सहितको टोलीले बिहीबार दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको थियो ।

शुक्रबार बिहान रावल नेतृत्वको टोली बाढीले पु¥याएको क्षति निरीक्षणका लागि भीमदत्त नगरपालिका–९ को मटेना क्षेत्रमा पुगेको थियो । अविरल वर्षाले निर्माणाधीन महाकाली सिँचाई तेस्रो चरणको नहरमा पानी भरिएर बस्ती पसेको थियो । राम टोल चम्मन चोकका स्थानीय भुवन सिंह धामीको २ कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको थियो । चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव लिंक रोडमा समेत क्षति गरेको छ । 

थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसंगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ का पूर्व अध्यक्ष राम नाथले बताए । लुम्डानीका स्थानीय राजमतीदेवी विष्टको घर कटानले जोखिममा छ । त्यहीँको कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ ।

यस्तै, भीमदत्त नगरपालिका–९ स्थित थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाएको छ । जसले भीमदत्तको वडा नम्बर ६, ७ र ८ संगको सडक सञ्जाल टुटेको छ ।

निङलाशैनी टोलका स्थानीय सुरज नाथ, मोहन नाथ, तारा नाथ, भीम नाथ, अर्जुन नाथ र राजेन्द्र नाथको घर खेत जोखिममा परेको छ । महाकाली सिँचाइ तेस्रो चरणको नहरमा पानी ओभरफ्लो भएर बस्ती पसेको थियो ।

स्थानीय देवबहादुर चन्दको घर तीनतिरबाट कटान गरेकाले उच्च जोखिममा छ । चन्दको घरमा भाडामा बस्ने शम्भु ओडले स्थानीय मालिकार्जुन आधारभुत विद्यालयमा आश्रय लिएका छन् ।

निरीक्षणका लागि पुगेको पूर्वमुख्यमन्त्री रावलसहितको टोलीसंग यहाँका स्थानीयले तटबन्ध निर्माण गरेर जोखिममा रहेका घर जोगाइदिन माग गरेका छन् । भत्किएको सडक मर्मत गरेर आवागमन सुचारुका गर्न उनीहरुले माग गरे ।

बाढीग्रस्त क्षेत्रको निरीक्षणपछि उक्त टोलीले जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको हो । रावलले सम्बन्धित सरकारी कार्यालयका प्रमुखलाई तत्काल सडक मर्मत र तटबन्ध निर्माण गर्न निर्देशन दिएका थिए ।