Skip to main content

सोमबारको संसद बैठकमा सरकार गयल, नेताहरुले टर्च बालेर खोजे सरकार

Submitted by editor on
ईबिगुल संवाददाता
टर्च बालेर खोजियो सरकार

धनगढी  ः सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित भएको हो ।

प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ । पहिलो र दोस्रो बैठकमा सहभागि भएकी भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आईतबार पदबाट हटाई दिएपछि सोमबारको बैठक सरकारविहीन भएको हो ।

सोडारीले प्रदेश सभामा नजान ह्विप जारी गरेपछि पनि थापा पहिलो र दोस्रो बैठकमा सहभागि भएकी थिईन । अल्पमतमा परेर पनि ३० दिनअघि सरकार नछोडने मुड बनाएका मुख्यमन्त्री सोडारी अहिलेको विषेश अधिवेशन सञ्चालन नहोस भन्ने चाहन्छन । 

उनले अध्यादेश ल्याउनका लागि संसदको बजेट अधिवेशन बन्द गराएपछि काँग्रेस र एमालेका एकचौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाले साउन ८ गते विषेश अधिवेशन बोलाएका थिए । पहिलो बैठकमा खासै छलफल नभएपछि आईतबार बसेको प्रदेश सभाको बैठकमा प्राकृतिक प्रकोपका बारेमा विषेश समय लिएर चार दलका चार सांसदहरुले बोलेका थिए ।

सोमबारको प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले बताए ।

सुदूरपश्चिमम प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम ५ ले मन्त्रीको उपस्थित अनिवार्य गरेको छ । अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित अन्य ५ मन्त्री संसद छल्दै आएका छन् ।

टर्च बालेर खोजियो सरकार
सुदूरपश्चिम प्रदेश सरकार संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरुले सोमबार दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन ।  संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा (एमाले), नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन ।

संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए । ‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन । जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन’ उनले भने । ‘त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको हो ।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।