Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

Submitted by editor on
विश्वासको मत मागेपनि सोडारीले पाउने सम्भावना छैन । अहिले काँग्रेस र एमालेको गठबन्धन भएकाले यी दिई दलको मात्रै २९ प्रदेश सभा सदस्यको बहुमत पुग्छ ।
शिवराज भट्ट
दीर्घ बहादुर सोडारीले

धनगढी : असार २० गते नै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन । आज (बुधबार) उनले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाउदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पनि पठाईसकेको छ । ‘आजै मुख्यमन्त्री ज्युको पत्र आएको थियो, शुक्रबार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भईसकेको छ’ सभामुख भण्डारीले भने ।

असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । उनले विश्वासको मत लिने अन्तिम दिन अथवा साउन १८ गते विश्वासको मत लिन लागेका हुन । 

सोडारी त्यतीबेला एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए । तर केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिएको थियो भने आफुना तीन जना मन्त्रीहरु पनि फिर्ता बोलाएको थियो ।

विश्वासको मत मागेपनि सोडारीले पाउने सम्भावना छैन । अहिले काँग्रेस र एमालेको गठबन्धन भएकाले यी दिई दलको मात्रै २९ प्रदेश सभा सदस्यको बहुमत पुग्छ । अझ रेशम पक्षका नाउपाका सदस्यहरु पनि नयाँ सरकारलाई समर्थन गर्ने संकेत देखिएको छ । सुदूरपश्चिमका लागि २७ जनाको संख्या बहुमत हो ।