Skip to main content

राजाका नाममा अवसरवादी सलबलाई रहेका छन : प्रदेश प्रमुख मिया

Submitted by editor on
उनले पत्रकारहरुले जनता, समाज र मुलुकलाई केन्द्रमा राखेर आफ्नो कलम चलाउन पनि आग्रह गरे ।
ईबिगुल संवाददाता
नजिर मिया

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले अहिले रानाका नाममा अवसरवादीहरु सलबलाई रहेका बताएका छन । नेपाल पत्रकार महासंघले आयोजना गरेको अनलाईन मल्टिमिडिया सम्बन्धि सुदूरपश्चिम स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

‘अहिले राजावादीका नाममा अवसरवादी सलबलाई रहेका छन, संघीयता विरोधीहरुको चलखेल बढिरहेको छ’ प्रदेश प्रमुख मियाले भने । उनले संघीयताका बारेमा गलत प्रचार गरेर आफ्नो स्वार्थपूर्ती गर्नेहरु बढिरहेको बताए । ‘मैले अर्घाखाँचीको गाविस अध्यक्ष हुँदा २२ लाख बजेट थियो । अहिले पालिकाहरु कम्तीमा पनि ५० औं करोड कार्यान्वयन गरिरहेका छन । प्रदेशमा ३०÷३५ अर्वको बजेट बन्छ, यो सबै संघीयताले भएको हो’ उनले भने ।

प्रदेश प्रमुख मियाले सुदूरपश्चिम आफैमा सुन्दर भएको बताए । ‘म प्रदेश प्रमुखको सपथ खाएर आउदा मलाई केहीले सुदूरपश्चिमका बारेमा नराम्रो कुरा भनेका थिए । तर म सुदूरपश्चिम आएपछि मलाई भनिएको भन्दा फरक पाए । यो प्रदेशका जनता सालिन छन, प्रदेश सुन्दर छ । यसलाई अझ सुन्दर बनाउन सकिन्छ’ उनले भने ।

उनले पत्रकारहरुले जनता, समाज र मुलुकलाई केन्द्रमा राखेर आफ्नो कलम चलाउन पनि आग्रह गरे । ‘पत्रकारहरु भनेको समाजका ऐना हुन । तपाईहरुले जनता, समाज र मुलुकलाई केन्द्रमा राखेर समाचार बनाउनुपर्छ । तपाईहरुले समाज परिवर्तनका लागि भूमीका खेल्नुपर्छ’ प्रदेश प्रमुख मियाले भने । 

अहिलेका पत्रकारितालाई सामाजिक सञ्जालले केही ओझेलमा पारेको बताउदै सामाजिक सञ्चालले छरेको भ्रममा नपर्न आग्रह गरे । ‘सत्य एक दिन सत्य हुन्छ, सामाजिक सञ्चालमा भईरहेको असत्य एक दिन प्रयोगकर्ताले पत्याउन छोडनेछन, मिडिया सत्य सूचना दिने माध्यम हो, एक दिन सत्य जित्नेछ’ उनले भने ।

महासंघका प्रदेश अध्यक्ष भरत बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्यहरु सुरेश पन्त, योगेन्द्र बलायर, महासंघका प्रदेशका पूर्व अध्यक्ष अर्जुन शाह, प्रेस युनीयनका प्रदेश अध्यक्ष मनमोहन स्वार, प्रेस चौतारीका प्रदेश महासचिव भानुभक्त आचार्य, प्रेस सेन्टरका प्रदेश सचिव पदम सुनार, जन पत्रकार संगठनका प्रदेश संयोजक धर्मसिह प्रपला लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

२ दिनसम्म चल्ने अनलाईन मल्टिमिडिया प्रशिक्षणका सुदूरपश्चिमका ९ जिल्लाका ४५ जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ भने विकास कार्कीले प्रशिक्षण दिईरहनु भएको छ ।