धनगढी : धनगढीमा एयरफोन चोरी गरेको निहुँमा कुटपिट गरि हत्या गरिएका ब्यक्तिको चिहान उत्खनन गरि शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको आशंकामा धनगढी उपमहानगरपालिका–१४ फूलबारीका ३५ वर्षीय गणेश गिरीको शव उत्खनन गरेको हो ।
प्रहरीले हत्या गरेको आशंकामा दुई जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा मृतकका भान्जा १८ वर्षीय प्रदीप बोहरा र मृतककै सहदोर भाई ३३ वर्षीय पदम गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
सिंहकाअनुसार २८ असारको राति पक्राउ परेका मध्ये मृतकका भान्जा प्रदिपले मृतककै घरमा आफ्नो एयरफोन चोरी गरेको भन्दै कुटपिट गरेको खुलेको छ । कुटपिटबाट घाइते भएका गणेश गिरीको असार ३० गते मृत्यु भएको थियो । मृतकका परिवारले परम्पराअनुसार उनको शव गाडेर अन्त्येष्टि गरेका थिए ।
गिरि समुदायमा शव नजलाएर समाधि बनाएर गाढने परम्परा छ । बिहीबार गिरीको भान्जाबाटै हत्या भएको खबर पुगेपछि कैलाली प्रहरीले गिरीको शव समाधिस्थलबाट उत्खनन् गरेको थियो ।
शव उत्खनन् गरेर कुटपिट गर्ने बोहरा र घटनामा मतियारको भूमिका खेलेका भन्दै मृतककै सहोदर भाईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।