Skip to main content

दोधारा चाँदनीमा फेरी बाघ देखिएको खबरपछि निकुञ्जको टोली सर्चमा

Submitted by editor on
ईबिगुल संवाददाता
प्राविधिक टोलीले खोजी कार्य सुरु

धनगढी : कञ्चनपुरको दोधार चाँदनीमा स्थानीयले बाघ देखिएको भनिएको ठाउँमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोलीले खोजी कार्य सुरु गरेको छ । 

बुधवार देखि दोधारा चाँदनी नगरपालिका –२ मा देखिएको नरभक्षी बाघलाई शुक्रवार बिहान नियन्त्रण लिइएको थियो । उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जमा पुगाइसकेपछि साँझ पुनः बाघ जस्तै जनावर देखिएपछि उक्त क्षेत्रमा ड्रोनको सहायताले खोजी कार्य सुरु गरिएको हो ।

शुक्रवार राती मात्रै दोधरा चाँदनी –३ जमुना घाडिमा ३ बाख्रा मरेको पाइएको स्थानीयले बताए । बिहीबार दोधार चाँदनी नगरपालिका –२ कमलशा टोलमा बाघको आक्रमणमा परि सोही ठाउँकी २६ वर्षीय हिरा शाहको ज्यान गएको थियो । 

सोही ठाउँमा शुक्रवार राति फेरि बाघजस्तै जनावर देखेको स्थानीयले बताएका छन् । राति प्रहरीले घरबाहिर ननिस्किन सो क्षेत्रमा माइकिङ गरेको थियो । बाघजस्तो शंकास्पद जनावर देखिएको भनिएको ठाउँमा पाडो पनि बाँधिएको थियो । तर त्यो सकुशल छ ।

स्थानीयले भने अनुसारको ठाउँमा खोजीका लागि निकुञ्ज टोली पुगिसकेको शुक्लाफाँटा निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए । ‘बाघ देखिएको भनेको ठाउँमा अवलोकन गरिरहेका छौँ, बाघ हो या अन्य जनावर हो भन्ने यकिन छैन’ सूचना अधिकारी ऐरले भने ।