Skip to main content

विद्यार्थी राजनीतिबाट उदाएका खड्का, सुदूरपश्चिमको सामाजिक विकास मन्त्री

Submitted by editor on
ईबिगुल संवाददाता
मेघराज खडकाले


धनगढी : काँग्रेस नेता मेघराज खडकाले सामाजिक विकास मन्त्रालयमा पदभार ग्रहण गरेका छन । खड्काको जन्म अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ अर्थात साविक लुंग्रा गाविसमा भयो । उनको बाल्यकाल अछाममै बित्यो । 

उनले आफ्नो प्रारम्भिक शिक्षा अछाममै पुरा गरेपछि आफ्नो उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसबाट पूरा गरे । उनले राजनितिशास्त्रमा स्नातकोत्तर(एमए) गरेका छन् । उनको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहपछि सुरु भएको हो, जब उनी माध्यमिक तहमा पढ्दै थिए ।

बहुदलीय व्यवस्थाको पक्षमा उनले विभिन्न कार्यक्रमहरूमा संलग्नता जनाए । २०३७ सालमा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्य बने र २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति बने ।

२०४२ सालमा नेपाली कांग्रेसद्वारा सञ्चालित सत्याग्रहमा संलग्न हुँदा उनलाई चार महिना भन्दा बढी समय कारागारमा नजरबन्द गरियो । २०४६ सालको जनआन्दोलनमा कठोर यातना सहित अछाममा हिरासतमा १६ दिन जेल बसे ।

विद्यार्थी राजनीतिमा सक्रिय हुँदा, उनी कैलालीमा चार पटक हिरासतमा परेका थिए । २०६२÷६३ को जनआन्दोलनमा पनि उनले सक्रिय सहभागिता जनाए । २०४८ सालमा उनी कांग्रेस जिल्ला समिति सदस्य बने । नेपाली कांग्रेसको ९ औं महाधिवेशन देखि १४ औं महाधिवेशनसम्म उनी निरन्तर महासमिति सदस्य रहे ।

२०५४ सालमा उनी जिल्ला विकास समिति सदस्य भए । २०६३ देखि २०६७ सम्म उनी नेपाली कांग्रेस अछामका पार्टी सभापति बने । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी सुदूरपश्चिम प्रदेश महामन्त्री बने ।

२०७९ मंसिर ४ को निर्वाचनमा उनी अछाम क्षेत्र नं १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । लामो समयदेखि राजनीतिमा सक्रिय उनी २०७९ साल मंसिर ४ गतेको चुनावबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेका थिए ।

वि.सं.२०७० सालको संविधान सभाको चुनावमा पराजित खड्का २०७४ मा प्रदेश सभाको निर्वाचनमा पराजित हुन पुगे । उनी फेरि उनी २०७९ सालमा प्रदेशसभामा उम्मेदवार बने । उनले सो चुनावमा १२ हजार ३३७ ल्याएर विजयी हासिल गरे ।

उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देवबहादुर कुँवरले ६ हजार ४९७ मत मात्रै प्राप्त गरेका थिए । खड्का ५ हजार २६० मतान्तरले विजयी भए । त्यसपछि उनलाई अछामी जनताले प्रदेशको मुख्यमन्त्रीको रुपमा हरेका थिए ।

तर उनले पटक पटक सरकार गठन हुँदा पनि मुख्यमन्त्री र मन्त्रीका लागि मरिहत्ते गरेनन् । उनी पार्टीको प्रदेश महामन्त्री रहेर काम गरिरहे भने प्रदेशसभामा जनताका समस्या जोडदार उठाइरहेँ ।

तर यसपटक भने केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै निष्ठावान् नेताका रुपमा छवि बनाएका मेघराज पहिलोपटक मन्त्री बने । उनले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन ।