Skip to main content

यसरी पुग्न सकिन्छ, बडिमालिका

Submitted by editor on
पदमबहादुर सिंह
बाजुरामा रहेको बडिमालिका ।

बाजुरा ः प्राकृतिक छटाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र हो बडिमालिका । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र कर्णाली प्रदेशको कालिकोटको संगमस्थलमा हो भने मुख्य पुजाथान भने बाजुरा जिल्लामा पर्छ । 
प्राकृतिक सुन्दरता र धार्मिक महत्वका दृष्टिकोणले सुदुपश्चिम प्रदेशको खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, बैद्यनाथ, अपी र साईपाल लगायतका क्षेत्र निकै महत्वपूर्ण मानिन्छन् । त्यस मध्ये पनि बडिमालिकाको स्थान बिशिष्ट छ, धार्मिक र पर्यटकीय दुबै हिसावले । हिन्दुहरुको आस्थाको धरोहर यति महत्वपूर्ण भगवतीको पीठ ओझेलमा परेको छ । बडिमालिका क्षेत्र संरक्षण, सम्बद्र्धन र बिकासको पर्खाईमा छ ।


शान्त डाँडा काडा, फराकिला घाँसे मैदान अनि सिमसिम पानी । वर्षातमा रमाउँदै उकालो पदयात्रा छिचोले पछि मात्र आकर्षक र मनमोहक दृश्य त्रिबेणी र बडिमालिका  देखिन्छ  । बादल आफूभन्दा तल हुन्छ । मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला चुचुरा, हेर्दै मन डराउने अग्ला डाँडाहरु, श्रृखंलाबद्ध पहाडहरु कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? भोक, थकान, पीडा, चिसो सिरेटो सबै गौण हुन्छन । 


बडिमालिकाको जति चर्चा गरेपनि कम हुन्छ  । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको छ । जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्राको मौसम भने वर्षा याम हो । बडिमालिका छ नै त्यस्तो । पुग्न कठिन । पुगेपछि झर्न कठिन । यी सबै कठिनाई  बडिमालिका प्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरिया पाटनका अगाडी गौण हुन्छन । 


बडिमालिकाको दर्शनले मनले चिताएको पुरा हुने जनविश्वास छ । पुत्र नभएकाहरुलाई पुत्र प्राप्ती, धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ । बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास छ । बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती झन अचम्मको छ । परापुर्वकाल देखि नै त्यहा रहेको खेत रोपिएको, धान, धान रोप्न  तयार गरिएका जस्ता गह्राहरु, त्यस बीचमा फालिएका बीउका मुठाहरु जस्ताका तस्तै छन । 


उहिले भगवती र मैसासुर राक्षसको लडाई हुँदा खेती लगाउदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किवदन्ती रहेको बुढापाकाहरु बताउछन् । बडिमालिका मन्दिरको धार्मिक महत्व मात्र नभई १४० भन्दा बढी जातका रङ्गीचङ्गी फूल, सयौँ जातका जडिबुटी, ७० भन्दा बढी प्रकारका चरा चुरुङ्गी पाइन्छन ।


६ महिना घोडा भेडाहरु चराउनका लागि उपयुक्त चरिचरन क्षेत्र, २२ वटा घाँसे मैदान, तीन वटा नदीको संगम रहेको पवित्र धाम त्रिवेणी त्यही पर्छ ।  थुप्रै ठाउँ नियाल्न सकिने अग्ला–अग्ला हिमश्रृंखलाहरुले तीर्थालुको मन लोभ्याउने गर्छ । 


पर्यटकीय महत्वको गहना बढीमालिका र त्रिवेणी पाटनको विकासका लागि सरकारी पहल भने भएको छैन । बडिमालिका लगायत अन्य मन्दिरमा दर्शनार्थीले सुनचाँदी र अन्य बहुमूल्य गरगहना चढाउने गर्दछन् तर ती सामान सरकारी ढुकुटीमा गएको देखिँदैन ।

 सुदूरपश्चिम प्रदेश लगाएत देशका बिभिन्न जिल्ला र भारतका बिभिन्न शहर अधिकांश  धार्मीक पर्यटकहरु बडिमालिका पुग्छन् ।
बडिमालिकामा कालिकोट, बाजुुरा लगायतका जिल्लाका किसानले भेडा, बाख्रा, घोडा लगायतका चौपाया चराउन ल्याउने गरेका छन भने जडिबुटि पनि संकलन गर्ने गरेका छन । बडिमालिका पुगेका पर्यटक तथा तिर्थालुहरुका लागि त्यो क्षेत्र सदा अविस्मरणीय रहिरहने बाजुरा जिल्लाका पूर्ब प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी बताउछन् । ‘पुग्नेका लागि बडिमालिका जीवन भरीको स्मरण हो’ प्रजिअ अधिकारीले भने ।


पछिल्लो समय बडिमालिकाको चर्चा हुद गदै गएको छ । तर राज्यले पुर्वाधारमा लगानी गर्न नसकेको बाजुरा क्याम्पसका उप–प्राध्यापक काशी प्रसाद जोशी बताउन । ‘बडिमालिकालाई राज्यले आम्दानीको श्रोतका रुपमा पनि प्रयोग गर्न सक्छ । बर्षेनी हजारौ भक्तजनहरु भेटीका रुपमा चुन चादी पैशा देखि बहुमुल्य गहना चढाउने गर्छन । त्यसको कुनै रेकर्ड र लेखाजोखा छैन । धार्मीक आस्थाले चढाईएका बहुमुल्य बस्तुलाई आम्दानी बाध्न सके सरकारले लगानी नै गर्नु पर्दैन’ उप–प्राध्यापक जोशी भन्छन ।


बडिमालिकाको सुन्दरता र धार्मीक आस्था जती छ, भौतिक संरचना नहुदा त्यति नै समस्या छ ।  बडिमालिका माताको मूल मन्दिर भएको ठाउमा कुनै संरचना बनेको छैन । धार्मीक पर्यटकका लागि खानेपानी सौचालय देखि बास बस्न समेत समस्या हुने गर्छ । मुल मन्दिर नै जिर्ण अवस्थामा रहेको छ । यसको मर्मत वा पुन निर्माण हसन सकेको छैन । 


हाल रहेको मन्दिर सानो र एक मात्र ढोका भएकोले दर्शनार्थीहरुलाई पुजा गर्न घण्टौ कुर्नुपर्ने बाध्यता छ । बाटोमा खाने बस्न समेत नपाईने भएकोले राज्यले बाटोमा बस्न खाने ब्यवस्थाको लागि लगानी लगाउने वातावरण बनाई दिन जरुरी छ ।


जनैपूर्णिमाको अवसर पारेर लाग्ने बडिमालिका मेलामा देशभरका तथा छिमेकी मुलुक भारतबाट श्रद्धालु भक्तजनहरु तीर्थयात्रा गर्न आइपुग्छन् । तीनवटा नदीको संगम रहेको त्रिवेणीधामको छुट्टै महत्व छ । भक्तजनहरुले यहाँ पितृहरुको श्राद्ध गर्ने गर्छन् । नुहाइधुवाइ गरेर बडिमालिका थानतिर उक्लिन्छन् । भोलिपल्ट बिहान बडिमालिकाको थानमा पूजा गरेर बाजुराकै नाटेश्वरी मन्दिरतिर लाग्छन् । नाटेश्वरी मन्दिरमा पूजा गरेपछि बडिमालिका दर्शनको चक्र पूरा हुन्छ भन्ने मान्यता छ ।


बाजुरा जिल्लाको पोरखे लेक, मार्तडी, कोर्ध, मना, र त्रिबेणीको नाटेश्वरी बडिमालिका पदपात्रीका लागि मुख्यमुख्य पदमार्ग हुन । त्यस्तै छिमेकी जिल्ला अछाम र कालिकोटभाट पनि दर्शालु आउने गरेका छन । बाटोमा खाने, बस्ने व्यवस्था आफैले गर्नुपर्छ । मेला अवधिभर भने त्रिपालमुनि अस्थायी होटलहरु सञ्चालन गरिएको हुन्छ । भक्तजनहरुले बस्न पाल, टेन्ट, लत्ताकपडा बोकेरै आउँछन् । यस वर्ष १२ हजार जति भक्तजनले बडिमालिका दर्शन गरेको मेला आयोजक समितिले अनुमान गरेको छ ।


बडिमालिका समुद्री सतह देखि ४२ सय मिटर उचाइमा अवस्थित छ । बाटैभरी टाढासम्म फैलिएका हरिया पाटन, अग्ला पहाडहरु, थुप्रै स—साना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछ । अग्ला—अग्ला पहाडहरुमा उकालो–ओरालो गर्दै, कतै साघुरा बाटाहरु यात्रा गरिरहँदाको थकानलाई यहाँ देखिने सुन्दर दृष्यले मेटाउँछन् । युवादेखि जेष्ठ नागरिक पुस्ताका भक्तजनहरु मेलामा आउने, बडिमालिका थानमा आशीर्वाद माग्ने, मनोकांक्षा पूरा भएको भन्दै धन्यवाद व्यक्त गर्न पनि भक्तहरु आउने गरेका छन । 


पृथ्वीनारायण शाहको पालादेखि लाग्दै आएको यो मेलामा सरकारी स्तरबाटै पूजा गर्ने गरिन्छ । बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहदै आएको बडिमालिकाका पुजारी भानुभक्त पाध्याय बताउछन् ।


बडिमालिकाको यात्रा ७ देखि ९ दिनसम्मको उपयुक्त मानिन्छ । गाडीमा एक दिनमा धनगढीबाट बाजुरा पुगिन्छ । पहिलो रात मार्तडी अथवा बाम्का फालासेन बजारमा बास बस्न सकिन्छ । दोस्रो दिन शुरु हुन्छ, पैदल यात्रा । बाम्का बजार भएर गए विस्तारै हिड्ने मान्छे दोस्रो रात लादे पाटन वा सोता पुग्छ । तेस्रो रात त्रिवेणी । चौथौ रात बडिमालिका । बडिमालिकाबाट विष्णु पानी, चङकेली, फिरफिरेको अग्लो डाँडा हुदै, लिस्ने गौडी, बुढी माईको थान । त्यहाँबाट धर्म घर, बल्ले ढिक्कुरा, ठूला गडा, धौलपुरी दहबाट पाँचौ दिन नाट्येश्वरी । छैठौ दिन नाट्येश्वरी दर्शन पछि दिपायल । सातौ दिन धनगढी फिर्ता हुन सकिन्छ ।