धनगढी : बैतडी समाजले आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन । धनगढीको पदमा नर्सिङ कलेज परिषरमा आयोजना गरिएको रक्तदान महोत्सवमा ३० जनाले पहिलोपटक रक्तदान गरेका संयोजक बीर बहादुर महराले जानकारी दिए ।
शनिबार विहान सुदूरपश्चिमका भौतिक पुर्वाधारमन्त्री सुरेन्द्र बहादुर पालले रक्तदान महोत्सवको उद्घाटन गरेका थिए । बैतडी समाजले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम र एक पटक स्वास्थ्य शिविर गर्दै आएको छ । बैतडी समाज कैलाली गठन भएयता यो १३ औं पटकको बृहत रक्तदान हो । अहिलेसम्म गरिएका १२ वटा कार्यक्रममा १ हजार ७५ जनाले रक्तदान गरिसकेका बैतडी समाजले जनाएको छ ।
समाजका रक्तदान संयोजक बीरबहादुर महराले यसपाली रक्तदान गर्नेलाई अफरै अफर रहेको बताए । पहिलो पटक रक्तदान गर्नेलाई रेन्वो कलर ल्याबले उनको रक्तदान गरिरहेको फोटो फ्रेम गरेर उपहार दिने भएको छ ।
यस्तै पहिलो पटक रक्तदान गर्नेहरुलाई धनगढी–४, उत्तरबेहडी स्थित समृद्धि डेन्टलले एक वर्षका लागि निःशुल्क दन्त सेवा उपलब्ध गराउने भएको छ ।
रातोपुलमा रहेको डिलाईट क्याफेले पहिलो पटक रक्तदान गर्ने र उनको एक जना साथी सहितलाई एक वर्षसम्मका लागि १० प्रतिसत छुट कार्ड उपलब्ध गराउने भएको छ ।
चटकपुर स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले पहिलो पटक रक्तदान गर्ने रक्तदाता र परिवारको थप एक जना सदस्यलाई एक वर्षभरी ओपिडि पर्चाको शुल्क मिनाहा गर्ने भएको छ ।
धनगढीकै अनुपमा बेकरीले पहिलो पटक रक्तदान गर्नेलाई उसको एउटा जन्मदिनमा एउटा केकमा ५० प्रतिसत छुट दिने भएको छ ।