Skip to main content

बाजुरा अदालत दुई महिनादेखि न्यायाधीसविहीन, न्याय सम्पादन ठप्प

Submitted by editor on
ईबिगुल संवाददाता
जिल्ला अदालत बाजुरा

बाजुरा : जिल्ला अदालत बाजुरा २ महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ बिदामा बसेपछि जिल्ला अदालत बाजुराको न्याय सम्पादन प्रभावित भएको हो । 

जिल्ला अदालत बाजुरामा १ जना न्यायाधीशको दरबन्दी रहेको छ । दरबन्दी अनुसार कार्यरत न्यायाधीश श्रेष्ठ असार पहिलो साता बिदा लिएर बेलायत भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्याय सम्पादनका कामहरू प्रभावित भएका छन् । 

न्यायाधीश नहुँदा निमित्त स्रेस्तेदारले थुनछेक आदेश गरेका मुद्दाहरू न्यायाधीशले पुनर्विचार गर्नुपर्ने हुन्छ । न्यायाधीशले पुनर्विचार गरे मात्र पुर्पक्षका लागि थुनामा, धरौटीमा छुट्ने पुनरावेदन गर्ने लगायत अन्य प्रक्रियामा जान पाउने हुन्छ । 

न्यायाधीश नहुँदा यस्ता थुप्रै मुद्दाहरू रोकिएका जिल्ला बार एसोसिएसन बाजुराका अध्यक्ष पुरबहादुर रावतले बताए । फैसला प्रक्रिया अगाडि बढेर पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा रोकिएर थप थुनामा बस्नुपर्ने बाध्यता भएको अध्यक्ष रावतले बताए ।

यो आर्थिक वर्षबाट स्वचालित पेशी प्रणाली सफ्टवेयरबाट मुद्दा तारिख प्रक्रिया सुरु भएको छ । न्यायाधीश नहुँदा मुद्दा पक्षले हप्ताका हप्ता तारिख लगाउने मात्र काम भएको छ भने अन्य प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । 

वर्षातको समय बाजुरा भौगोलिक रूपमा यस्तै दुर्गम बाटोघाटो बन्द छन् । हप्ताको हप्ता तारिख लगाउन आउँदा मुद्दा पक्षलाई झन् समस्या भएको छ । दुई महिनादेखि बिदा लिएर विदेश भ्रमणमा रहेका न्यायाधीश श्रेष्ठ विदेशबाट फर्किए लगत्तै काठमाडौंबाटै काज सरुवा भएका छन् ।

बाजुरामा न्यायाधीश आउने कुराको टुंगो नै छैन । विभिन्न शीर्षक मुद्दाका पक्षसँग बुझ्दा फैसलाका लागि पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा फैसला सर्दा समस्या भएको छ ।