धनगढी ः कैलालीमा खस समुदायको हक अधिकारका लागि भन्दै खस मुक्ति मोर्चा घोषणा गरिएको छ । बिहीबार कैलालीको अत्तरियामा औपचारिक कार्यक्रमको आयोजना गर्दै खस मुक्ति मोर्चाको घोषणा गरिएको हो ।
घोषणा गरिएको खस मुक्ति मोर्चाले खस समुदायको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका लागि देशभरका खसहरुलाई एकताबद्ध गरेर जागरण अभियान चलाउने जनाएको छ । मोर्चाका संयोजक निर्मल धामीले खस र आर्य समुदायलाई एउटै वर्गमा राखेर खस समुदायका अधिकार कुण्ठित गरेकाले सामुदायिक लडाईका लागि मोर्चा गठन गरिएको जानकारी दिए ।
नेपालमा वषौँदेखि आर्य समुदायले शासन गरिरहेको बताउने धामीले अब आर्य समुदायलाई नेतृत्व दिनेगरि मोर्चाले अभियान चलाउने दाबी गरे । खस मुक्ति मोर्चा कैलालीका संयोजक उपेन्द्र ठकुराठीले मोर्चाले बिहीबार नै प्रदेश निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मोर्चाको उद्देश्य र माग सम्बन्धी जानकारीसहितको पत्र बुझाइएको जानकारी दिए ।
निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको पत्रमा नेपालको जनसंख्याको १७ प्रतिशत ओगटेको सबैभन्दा ठूलो खस समुदायलाई १२ प्रतिशत जनसंख्या भएको आर्यमा मिसाएर खस समुदायलाईं समस्या पारेको उल्लेख गरिएको छ ।
त्यसैले खसआर्य क्लस्टरबाट खसलाई छुट्याएर छुट्टै क्लस्टर बनाएर राजनीतिक प्रतिनिधित्व, शैक्षिक अवसर र सरकारी सेवामा १७ प्रतिशत समानुपातिक समावेशिता कायम गर्नुपर्ने, खसको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि अध्ययन, अनुसन्धान, नीति निर्माण र सशक्तिकरण गर्न खस आयोग गठन गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका निर्वाचनमा पूर्ण समानुपातिक समावेशिता कायम गर्नुपर्ने लगायतका माग गरिएको छ ।