Skip to main content

सुदूरपश्चिम स्पोर्टस अवार्डको ‘भेन्यु पार्टनर’ ओम प्यालेस

Submitted by editor on
ईबिगुल संवाददाता
ओम प्यालेस

धनगढी ः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ धनगढीको ओम प्यालेसमा कार्यक्रम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा ओम प्यालेस भेन्यु पार्टनरको रुपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझा र ओम प्यालेसका व्यवस्थापक कल्याण मोक्तान बीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।


अघिल्ला तीन संस्करणमध्ये दुई संस्करणमा पनि ओम प्यालेसमै कार्यक्रम आयोजना भएको थियो । पहिलो र दोस्रो संस्करणमा अवार्ड कार्यक्रम आयोजना भएकोमा तेस्रो संस्करणमा भने प्यालेस खाली नभएका कारण धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा कार्यक्रम आयोजना भएको थियो । 


चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । 


उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।