Skip to main content

सुदूरपश्चिममा मात्रै किन भएन एमविविएसको पढाई ?

Submitted by editor on
शिवराज भट्ट
सुदूरपश्चिम

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विसालनगरकी अपेक्षा ओझाले यसपाली एमविविएसको प्रवेश परिक्षा पास गरिन । उनी ऐश्वर्य विद्या निकेतनमा नर्सरीमा भर्ना भएका बेला देखि नै कैलालीको गेटामा मेडिकल कलेज बन्ने चर्चा सुरु भएको थियो । उनले आईएस्सी सकेर चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षा पनि पास गरि सकिन तर गेटामा एमविविएसको पढाई सुरु भएन ।

‘म नर्सरीमा थिए, गेटामा मेकिकल कलेज बन्ने कुरा चलिरहल्थ्यो, आईएस्सी पनि सक्काए, एमविविएसको प्रवेश परिक्षामा पनि पास गरे तर गेटामा पढाई सुरु भएन, सरकार यस्तो किन ?’ उनले प्रश्न गरिन । उनले यस क्षेत्रबाट प्रधानमन्त्री भईसकेका ब्यक्तिहरुलाई सुदूरपश्चिमको विकास बारे सोच्न सुझाव दिईन ।

‘त्यतीबेला आफ्नै ठाउँमा एमविविएस पढन पाईने भयो भनेर खुसी भईन्थ्यो । हामीले आईएस्सी गर्दा त त्यहाँ हजारौं विरामीको उपचार गरिरहेको ठुलो अस्पताल भईसकेको होला, आफ्नै ठाउँमा पढन पाईएला भनेर सपना बुनिने गरिन्थ्यो तर अहिले सम्म पन पढाई सुरु नहुँदा मन खिन्न भएको छ’ ओझाले भनिन । 

‘प्रधानमन्त्री, सबैभन्दा बढी पटक भएका नेताहरु हाम्रै प्रदेशका छन । मन्त्रीहरु पनि छन, किन कसैले गेटाका बारेमा आवाज उठाउदैनन ? किन गेटामा पढाई सुरु हुदैन ?’ ओझाको प्रश्न थियो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की प्रियंका भट्टले पनि यसपाली एमविविएसको प्रवेश परिक्षा उत्तीर्ण गरिन । ‘म नर्सरीमा भर्ना भएका बेला नै गेटा मेडिकल कलेजको चर्चा हुन्थ्यो । हाम्रो पुस्ताले गेटामा एमविविएस, एमडी गर्न पाउछ भन्ने आशा थियो तर एक पुस्ताको माध्यमिक शिक्षा सकिदा पनि गेटा बनेन, किन ?’ उनको पनि एकनासकै प्रश्न थियो ।

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ डडेल्धुराको गन्यापधुराका आषिश भण्डारीले पनि यसपाली चिकित्सा सेवा आयोगले लिएको प्रवेश परिक्षा पास गरेका छन । चिकित्सा शिक्षा अध्ययनका लागि कलेजहरुको सीटको सूची आईसकेका बेला, सुदूरपश्चिमको नाम नदेखेपछि उनी भन्छन, ‘मेरै गाउँका ब्यक्ति पाँच÷पाँच पटक प्रधानमन्त्री भईसक्नु भएको छ । चुनावका बेला हेलिकप्टरमा गाउँ आएको सधै देख्छु । तर अब आउनुुभयो भने मेडिकल कलेज किन बनाउनु भएन भनेर सोध्छु’ आषिशले भने ।

आषिश अहिले आफ्नो प्रदेश बाहिरका कलेजहरु मध्ये कुन ठाउँको छान्ने भनेर तयारीमा जुटेका छन । ‘मनमा खिन्नता बोकेर मेरो प्रदेश बाहिरका कलेजहरु गनिरहेको छु । यसपाली मेरो प्रदेश बाहेकका ६ वटै प्रदेशमा चिकित्सा शिक्षाको अध्ययन हुने भएछ । मेरो प्रदेशको नाम नदेखेपछि नरमाईलो लागि रहेको छ’ उनले भने ।

कैलालीकै गोदावरी नगरपालिकाका युगान्त आचार्यले पनि यसपाली चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परिक्षा पास गरे । ‘एमविविएस पढन पाउने कलेजहरुको नाम हेरे, देशका ६ प्रदेशको मात्र नाम देखे, अनी बाबालाई सोधे गेटामा किन पढाई हुदैन ? भनेर । बाबा मुस्कुराउनुभयो’ युुगान्तले भने ।

युगान्तका बुवा लक्षिराम आचार्य नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन । हरेक विकास र राजनीतिक आन्दोलनमा अग्रभागमा देखिने लक्षीराम भन्छन, ‘छोराले सोध्यो, गेटामा कहिलेदेखि पढाई हुन्छ ? मैले के जवाफ दिनुु ? जवाफै थिएन ।’ उनी यसलाई नेताहरुको बेवास्ताको परिणाम बताउछन । ‘नीति निर्माण तहमा यस क्षेत्रका नेताहरुको अहम भूमीका छ । ईच्छाशक्ति भएको भए, एकै छिनमा हुने काम हो । किनकी पुर्वाधार सबै तयार भईसके । एउटा विधेयक पास गरेर, पदाधीकारी नियुक्त गर्ने वित्तिकै पढाई गर्न मिल्छ । तर नेताहरुलाई सरकार गिराउन र बनाउनुबाहेक मतलब छै्रन ।’

हुन पनि हो, यसपाली आईएस्सी सकेर चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षा दिएका बालवालिकाहरु नर्सरीमा हुँदा अथवा २०६५ साल देखि नै गेटामा मेडिकल विश्वविद्यालय निर्माणको प्रकृया सुरु  भएको हो । यद्यपी जग्गाको भोगाधिकार पाएर निर्माणकै काम सुरु भएको भने २०७० सालतिरबाट हो ।

मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व निर्देशक हेमराज पुजारा पनि गेटामा चिकित्सा शिक्षाको अध्ययन नहुनुमा यस क्षेत्रबाट संसद र सरकारमा प्रतिनिधित्व गर्ने नेताहरुको अनिच्छा भएको तर्क गर्छन । ‘२०७२ साल देखि पुर्वाधार निर्माण समितिको निर्देशक भएर काम गरे । धेरै नेताहरुसँग यस बारेमा छलफल भेटघाट भयो, तर प्राय धेरैलाई यस बारेमा चासो नभएको महसुस भयो । त्यसैले गेटामा ढिलाई हुनुको कारण यस क्षेत्रबाट संसद र सरकारमा प्रतिनिधित्व गर्नेहरुको ईच्छाशक्ति नहुनु हो ।’

यसपाली पनि पढाई नहुने भएपछि आक्रोस
चिकित्सा सेवा आयोगले शनिबार मात्रै सुदूरपश्चिम बाहेक देशभरीका २५ वटा प्रतिष्ठान र मेडिकल कलेजको सिटसंख्या निर्धारण गरिएको सूचना सार्वजनिक ग¥यो । त्यसमा सुदूरपश्चिम बाहेक ६ प्रदेशमा यसपाली देखि चिकित्सा शिक्षाको सरकारी कलेजहरुमा पढाई हुने भएको छ ।  

गेटामा झण्डै ७ अर्वका ५६ वटा गगनचुम्बी भवनहरु बनिसकेका छन । ६ सय क्षमताको अस्पताल भवन बनिसकेको छ । तर सरकारले गतवर्ष देखि त्यो महलमा सय शैयाको अस्पताल घोषणा गरेको छ । विशाल भवनभीत्र गएपछि त्यो सय शैयाको संरचना खोज्न गाह्रो हुनेपर्छ ।  
‘विशालकाय भवनमा सय शैयाको अस्पताल छ । त्यसमा पनि ओपिडि दैनिक ३०÷४० जना विरामी आउछन । विद्यार्थी भर्नाको घोषणा गरेपनि अहिलेसम्म एकजना भर्ना भएको छैन, मेडिकल कलेज बनाउनका लागि मात्रै ३ सय शैयाको अस्पताल तीन वर्ष सञ्चालनमा आएको हुनुपर्ने कानूनी प्रावधान छ, यो भनेको सुदूरपश्चिम प्रति सरकारले गरेको अपराध हो’ सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक ठाकुर प्रसाद ढुंगेल भन्छन ।

प्राध्यापक ढुंगेल गेटामा चिकित्सा शिक्षाको पढाई नहुनुमा स्वार्थ समुहको खेल भएको बताउछन । ‘यो त बुझिने कुरा त छ नी  । स्वार्थ समुहको खेल हो जस्तो लाग्छ ।   जबकी पुर्वाधार बनिसक्दा पनि एक सय शैयाको अस्पताल मात्रै किन ? मेडिकल कलेजका लागि त ३ सय शैया चाहिन्छ भन्ने कुरा ऐनमै ब्यवस्था छ । सय सैया घोषणा गरेकाहरुलाई के यो कुरा थाहा नभएको हो र ? यो भनेको सरकारको तर्फबाट सुदूरपश्चिमलाई लंगडो बनाउने प्रयास हो । यो नबन्नुमा कुन स्वार्थ समूमलाई के चाहिएको छ, त्यो अध्ययन गर्न जरुरी छ अब । स्वार्थ समुह छैन भने त यहीबाट प्रधानमन्त्री, यहीबाट गृहमन्त्री, अनेकौं नेताहरु यहीबाट सत्तामा गईराख्छन,  किन बनेन त  ? यो सुदूरपश्चिम प्रतिको अन्याय मात्रै होईन, अपराध हो’ प्राध्यापक ढुंगलले भने ।

उनले सरकारले समानुपातिक विकास नगरेको आरोप लगाए । ‘जुन प्रदेशमा ४५ प्रतिसत भन्दा धेरै गरिब छन, जुन प्रदेशका जनताको आय अरु प्रदेशका जनताको भन्दा कम छ, गरिवि हुनुभनेको विरामी पनि बढी हुनु हो । जहाँ बढी विरामी हुन्छन, त्यहाँ मेडिकल कलेज नखोल्नु भनेको राज्यले यो क्षेत्रका जनताप्रति गरेको अपराध हो भन्छु म त’ प्राध्यापक ढुंगेल भन्छन ।

राष्ट्रिय सभाले पास गरेको विधेयक एक वर्षदेखि अलपत्र
गेटामा मेडिकल कलेज निर्माण हुने भनेर पुर्वाधार बन्न थाले । तर निर्माणकै क्रममा सुदूरपश्चिम प्रदेशबासीले अहिलेसम्मको क्षतीपूर्ती सहित गेटामा मेडिकल विश्वविद्यालयको माग उठाए । त्यसका लागि आन्दोलन भए । युवा विद्यार्थीहरुले विश्वविद्यालय बनाउन संघर्ष समिति बनाए । उनीहरुले सडकमै बहस चलाए भने मुख्यमन्त्री, प्रदेश प्रमुख, जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना र प्रदर्शन गरे ।

त्यसपछि २०७९ साल माघ २९ गतेको मन्त्रीपरिषदको बैठकले यसलाई सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नाम दियो । मन्त्रीपरिषदले विश्वविद्यालय बनाउने भनि गरेको निर्णयसँगै आन्दोलन थामियो ।

त्यपछि अशोक कुमार राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका बेला ‘सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ राष्ट्रिय सभामा दर्ता गरियो । २०८० सालको असोज १९ गते दर्ता गरिएको  ‘सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ २०८० सालकै माघ २४ गते राष्ट्रिय सभाले पास ग¥यो । 

राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा गएको विधेयक अहिले प्रतिनिधि सभाको शिक्षा विज्ञान तथासूचना प्रविधि समितिमा गएर अडकिएको छ । शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिमा दफावार छलफलका लागि पठाइएको उक्त विधेयक छलफलका लागि प्रतिनिधि सभामा फर्केको छैन ।

गेटामा मेडिकल विश्वविद्यालयको आन्दोलनका अगुवा तत्कालिन प्रदेश सभा सदस्य डाक्टर दिपक प्रसाद भट्ट भन्छन, ‘प्रतिनिधि सभामा गएको ८ महिनासम्म पनि विधेयकमाथि छलफल हुन सकेको छैन । समितिमा रहेको उक्त विधेयक, संसदको चालु अधिवेशनमै प्रतिनिधि सभामा छलफलका लागि पेश गरेर पास गरिनुपर्छ ।’

उनले सोमबार प्रतिनिधि सभाको शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका सभापति मोहन बहादुर थापालाई भेटेर विधेयक अगाडि बढाउन आग्रह गरिएको बताए । ‘सुदूरपश्चिमका बहालवाला माननीय र पूर्व माननीयहरुले सभापति थापालाई भेटेर विधेयक अगाडी बढाउन ध्यानाकर्षण गराएका छौं’ डाक्टर दिपक प्रसाद भट्टले भने ।

तर प्रतिनिधि सभाको शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले भने संसदको चालु अधिवेशनमा उक्त विधेयक पास हुन नसक्ने बताए । ‘विधेयक समितिमा आएको छ । त्यसमा १०३ जना माननीय ज्युहरुको संसोधन परेको छ । उनीहरुसँग सोधपुछ गर्नुप¥यो, छलफल गर्नुप¥यो, अनी मात्रै पो पास हुन्छ त’ सभापति थापाले भने ।

उनले हिउदे अधिवेशनमा उक्त विधेयक पास हुने दाबी गरे । ‘यो अधिवेशन दशैं अगाडि नै बन्द होला, यो अधिवेशनमा यत्तीका माननीय ज्यूसँग छलफल गरेर संसोधन गरेर प्रतिनिधि सभामा लगेर अझ छलफल गरेर पास हुनसक्ने समय नै छैन’ उनले भने ।

तर शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका पूर्व सभापति भानुभक्त जोशी भने १५ जना सांसदको मात्र संसोधन परेको बताए । ‘मैले सोमबार समितिमा गएर विधेयकको विवरण ल्याएको छु । १५ जना माननीयहरुले संसोधन हालेका छन । ती माननीय ज्युसँग दुुई चरणमा छलफल गरे एकै दिनमा पनि समितिले काम सक्छ’ जोशीले भने ।

उनले संसदीय समितिले यस विधेयकमा चासो नलिएको गुनासो गरे । ‘समितिले चाहेमा २ दिनको काम पनि छैन । १५ जना माननीयहरुलाई २ समूह बनाएर बोलाएपनि भईहाल्यो, एकै समुहमा पनि छलफल गरेर टुंगाउन सकिन्छ । त्यती धेरै विवादीत संसोधन पनि छैन, तर समितिका सभापतिको चासो हुनुप¥यो’ जोशीले भने ।

७ अर्वका पुर्वाधारमा सय शैयाको अस्पताल
गेटामा ६ सय शैया क्षमताको अस्पताल भवन बनिसकेको छ । ३ सय जना विद्यार्थी क्षमताको कलेज भवन पनि बनिसकेको छ । चिकित्सकहरुको आवास, नर्सिङ आवासहरु, नर्सिङ छात्रावास, प्रशासनीक भवन, शवगृह, चमेनागृह, विद्युत पावरहाउस, खानेपानी, पक्की सडक, धेरपर्खाल सहितका ९५ प्रतिसत भन्दा बढी संरचना बनिसकेका छन । फोहरमैलाको ब्यवस्थापनको प्लान्ट र खानेपानीको पाईप लाईनमा भने केही समस्या देखिएको छ । 

धनगढी अत्तरिया ६ लेन सडकसँगै जोडिएको गेटामा यत्तीका पुर्वाधार बनिसक्दा पनि अस्पताल भने सय शैयाको मात्रै सञ्चालनमा छ । अस्पतालमा दैनिक ३०÷४० जना भन्दा बढी विरामी आउदैनन । अस्पतालले विरामी भर्ना गर्न वार्ड तयार पारेपनि अहिलेसम्म एक जना भर्ना भएको छैन । अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले कार्तिकभीत्रमा अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउने बताए । 

‘हामीले ईमरजैन्सी सेवा सुरु गर्न सकेका छैनौं । किनभने ईमरजैन्सीमा आएको ब्यक्तिलाई तुरुन्तै आईसीयुमा राख्नुप¥यो भने हामीसँग आईसीयु छैन । तर आईसीयुको टेन्डर भएर सम्झौता भईसकेको छ । सम्झौता अनुसार असोजको मसान्तभीत्र आईसीयु सेटअफ भईसक्छ’ डाक्टर सापकोटाले भने । सापकोटा कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा पनि निर्देशक भईसकेका ब्यक्ति हुन ।

उनले ईमरजैन्सी सल्यक्रिया कक्ष तयार भईसकेको, विरामी भर्नाका लागि सबै वाड तयार भईसकेको, एमआरआई र सिटिस्क्यान बाहेकका सबै उपकरणहरुको खरिद प्रकृया सम्पन्न भई जडानको अवस्थामा रहेकाले अबको एक÷दुई महिनामा अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।

‘भर्ना हुने विरामी आउने भनेको ईमरजैन्सी सुरु भएपछि हो । ईमरजैन्सी सुरु गरिदिने हो भने आईसीयु छैन । आईसीयु सञ्चालनमा आउने वित्तिकै अस्पतालले राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउछ’ उनले भने । उनले अस्पतालमा अत्याधुनीक टेक्नोलोजीका उपकरणहरु खरिद गरिएको बताए ।

उनले तीन सय शैयाको अवस्पतालका लागि पहल हुनुपर्ने बताए । ‘एमविविएस अध्ययनका लािग पहिलो कुरा अस्पताल ३ सय शैयाको हुनुप¥यो । त्यसका लागि यस क्षेत्रका माननीय ज्युहरु, संघर्ष समिति र आम जनसुमदायको चासो हुनुप¥यो । ‘फूलफेजको ३ सय शैयाको अस्पताल ‘रन’ हुने वित्तिकै चिकित्सा सेवा आयोगले सीट निर्धारण गरिहाल्छ नी ।’ निर्देशक डाक्टर सापकोटाले भने ।

कहिले होला ३ सय शैयाको अस्पताल 
मेडिकल कलेल सञ्चालनका लागि ३ सय शैयाको अस्पताल ३ वर्ष सञ्चालन भएको हुनुपर्ने कानूनी प्रावधान छ । गेटामा अहिले सय शैयाको मात्रै अस्पताल सञ्चालनमा छ । कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति चुडामणी भट्ट भन्छन, ‘सरकारले विधेयक पास गर्दै गर्ला तर यसैपाली तीन सय शैयाको अस्पताल घोषणा गर्नुपर्छ ।’

यसपाली ३ सय बेडको अस्पताल नभए अझ एमविविएसको पढाईका लागि तीन वर्ष कुनुुपर्दा ढिलाई हुने भट्टको तर्क छ । ‘अस्पतालमा सेटअप हुदै गथ्र्यो, विरामीहरुको चाप पनि बढथ्यो, सरकारले जनशक्ति थपेर तीन सय शैया बनाउन दबाब दिनुपर्छ’ भट्टले भने ।

सुदूरपश्चिम, पाँच÷पाँच पटक प्रधानमन्त्री भईसक्नुभएका शेर बहादुर देउवा र ४ पटक प्रधानमन्त्री भईसक्नुभएका लोकेन्द्र बहादुर चन्दको पनि प्रदेश हो । यो प्रदेशको गरिबी अरु प्रदेशको भन्दा १३ प्रतिसतले बढी छ । बढी गरिब भएको प्रदेशमा सरकारले शिक्षा र स्वास्थ्यमा बढी लगानी गर्नु पर्ने हो तर त्यसो नगरिनु सामाजिक अपराध भएको भन्दै प्रदेशबासी आक्रोसित भएका छन ।

‘पाँच÷पाँच पटक प्रधानमन्त्री भईसकेका नेताहरु, पटक पटक मन्त्री भएका नेताहरुको नालायकीपन हो गेटा’ धनगढीका स्थानीय प्रमोद पाठक भन्छन । ‘यो सुदूरपश्चिम माथिको षडयन्त्र हो ।’ उनले यसैपाली देखि गेटामा चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरे । 

‘गेटा आन्दोलनबाटै जन्मिएको हो । यसमा मेडिकल माफियाहरु हावि भएका छन । पुर्वाधार बनिसक्दा पनि ऐन बनेर नआउनु कत्तिको लापरवाही र विडम्बनापूर्ण कुरा हो’ सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डे भन्छन । ‘सरकारले यसै पाली तीन सय शैयाको अस्पताल घोषणा गर्नुपर्छ ।