महेन्द्रनगर: सर्वसम्मत वडाध्यक्षको उम्मेदवारी घोषणासँगै नेकपा (एमाले) कञ्चनपुर उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी मंसिर १६ गते भीमदत्त नगरपालिका वडा नं. ६ मा हुने उपनिर्वाचनको तयारीका लागि मूल निर्वाचन परिचालन समिति गठन गरी तयारी थालिएको हो ।
समितिको मंगलबारको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल र अर्का पोलिटब्युरो सदस्य निरुदेवी पालको उपस्थित थियो । बैठकमा नेताद्वयले आगामी निर्वाचनमा एमालेलाई हार्ने छुट नभएकाले तयारी तथा प्रचारको कार्य युद्धस्तरमा थालिहाल्न कार्यकर्तालाई आह्वान गरे । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पष्ट निर्देशन छ, उपनिर्वाचनमा एमालेलाई हार्ने छुट छैन, हामी जित्ने गरी लागेका छौँ, जित्छौँ,’ रावलले भने ।
२०७९ को स्थानीय तह चुनावमा वडा नं. ६ को अध्यक्षमा कांग्रेसका महेन्द्र खड्काले बाजी मारेका थिए । मोटरसाइकल दुर्घटनामा उनको निधन भएपछि यो वडामा उपनिर्वाचन हुन गइरहेको छ ।
२०४९ देखिका सबै स्थानीय चुनावमा भने एमालेले जितको इतिहास रच्दै आएको थियो । अघिल्लो चुनावमा गुमेको बिरासत पुनः फर्काउनका लागि एमालेले यो चुनावलाई प्रतिष्ठाको विषय बनाउने निश्चित छ । तयारी हेर्दा त्यसको छनक स्पष्टै देखिन्छ ।
अन्य प्रतिस्पर्धी पार्टीहरु भन्दा पहिल्यै सर्वसम्मत ढंगले उम्मेदवार खडा गरेको एमालेले झण्डै एक चरणको घरदैलो सक्काएको छ । निर्वाचन परिचालन समिति गठन गरी नेताहरुको जिम्मेवारी बाडफाट गरिएको छ ।
एमालेले पूर्व शिक्षक बहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । चन्दले एक चरणको घरदैलो सक्काएको र मतदाताको रुझान आफूतर्फ भएकाले उत्साहित भएको प्रतिक्रिया दिए । चन्दले वडा नं. ६ मै रहेको शान्ति निकेतन माध्यमिक विद्यालयमा ४० वर्ष सम्म शिक्षण पेशा गरेका थिए । प्राथमिक देखि माध्यमिक तह बनाउन मात्रै होइन्, गुणस्तरीय शिक्षा प्रदान गर्ने कञ्चनपुरकै अग्रणी विद्यालयमा नाम दर्ज गराउदा उनले नै प्रधानाध्यापकको रुपमा शिक्षण संस्था हाकेका थिए ।
शिक्षणसँगै खेलकुदको पृष्ठभूमि भएका चन्द आफ्नो कुरा खरो र प्रष्टसँग राख्ने व्यक्तिका रुपमा समाजमा परिचित छन् । विगतका राजनीतिक परिवर्तनहरुमा उनी शिक्षक संगठनमा आवद्ध भई आन्दोलनको अग्र मोर्चामा खटिने गरेको स्मरण उनका सहकर्मीहरु गर्छन । ‘लामो समयसम्म विद्यालय हाँके,’ चन्दले भने, ‘अब वडा नं. ६ का आम मतदाताहरुले वडा हाँक्ने जिम्मेवारी प्रदान गर्नेमा विश्वस्त छु ।’
निर्वाचन परिचालन मूल कमिटीका संयोजक तथा एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले एक चरणको घरदैलो कार्यक्रम सम्पन्न भएको र मतदाताको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । ‘हाम्रो वडामा २६ वटा टोल छन्, तिनलाई ९ टोलमा बिभाजन गरी यस वडामा भएका पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र सीमा जोडिएका वडाका जिम्मेवार नेता, कार्यकर्ताहरुलाई खटाउने गरी जिम्मेवारी तोक्ने काम भइरहेको छ,’ उनले भने ।
वडा नं. ६ मा एमाले र कांग्रेसकै बीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेसबाट प्रकाश चन्द उम्मेदवार छन् । २०४९, ०५४ र ०७४ मा यो वडामा एमालेले बाजी मारेको थियो । ०७९ को चुनावमा बिरासत गुमाउनुको एउटा कारण पार्टी फुट पनि भएको बिश्लेषण गर्दै एमालेले एकीकृत समाजवादीमा गएका केही नेताहरुलाई पार्टीमा भित्र्याएको छ । त्यसले गर्दा पनि यसपटक परिणाम सुखद हुने अपेक्षा नेताहरुले गरेका छन् ।
कार्यकर्ताहरुमा पनि उत्साह थपिएको र उनीहरु मतदातामाझ पुग्दै मत माग्न थालेको जिल्ला उपाध्यक्ष अवस्थीले बताए ।
मूल निर्वाचन परिचालन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटी पदाधिकारीलगायतको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले प्रचारप्रसार रणनीतिबारे आआफ्ना सुझाव प्रस्तुत गरेका थिए ।