Skip to main content

धनगढीमा महिला उद्यमीका लागि ‘शनिवारे’ मेला आजबाट सुरु (तस्विरहरु)

Submitted by editor on
सीप सिकेका तर कही कतै व्यवसाय नगरेका महिलाहरूलाई निःशुल्क बजारको अवरस दिने उद्देश्यले शनिवारे बजार सुरू गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।
शिवराज भट्ट
 शनिबारे मेला

धनगढी : महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उप महानगरपालिकाले आयोजना गरेको शनिबारे मेला आजबाट सुरुभएको छ । धनगढीको पार्क मोडमा सुरु भएको मेलामा महिला उद्यमीहरुका ६० वटा स्टल राखिएका छन ।

आजबाट हरेक शनिबार उक्त मेलाको आयोजना हुनेछ । प्रत्येक शनिबार दिउसो २ बजेदेखि लाग्ने मेलामा महिला उद्यमीहरुको मात्रै सहभागिता रहनेछ । सुदूरपश्चिमका राना थारु, डँगौरा थारु, नेवार समुदाय र पहकाडि समुदायका परिकारहरु शनिबारे मेलाका मुख्य आकर्षण हुन ।

मेलामा नेवारी खाजा देखि थारुका परिकार डिकरी, गंगटाको मासु, लोकल कुकुराका परिकार, घोंगी, पहाडि समुदायका सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटका, निस्सोसे, मासका पुरी लगायतका थुप्रै परिकारहरु राखिएका छन ।

मेलामा महिला उद्यमीहरुले घरमै बनाएका झोला, चप्पल, हातले बनाएका सामान, कपडा, दुना टपरी, फाईबरका घर सजावटका फूलहरु महोत्सवका आकर्षण रहेका छन । शनिबार उपमेयर कन्दकला रानाले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेकी छिन । 

घरमै थारू हस्तकलाका समान बनाएर बिक्री गर्ने अनुकुमारीले शनिवारे बजारले हस्तकलाको सामग्री बिक्री गरेर आयआर्जन हुने विश्वास गरेकी छन् । यस्तै, धनगढी–५ की दिप्ती राजभण्डारीले शनिवारे बजारमा दुना टपरी र हस्तकलाका सजावटका सामान राखेकी छन् । 
धनगढी–१५ को जमुना महिला समूहकी अध्यक्ष सुमती चौधरीले थारू खाजको स्टल राखेको र यो पटक राम्रो बिक्री भए अर्को पटकबाट परिकारको मात्रा बढाउने सोच रहेको बताइन् । 

सीप सिकेका तर कही कतै व्यवसाय नगरेका महिलाहरूलाई निःशुल्क बजारको अवरस दिने उद्देश्यले शनिवारे बजार सुरू गरिएको नगर प्रमुख गोपाल हमालले बताए । ‘तालिम लिने तर त्यस तालिमबाट सिकेका कुराहरु बजारमा लैजाने प्रबृती छैन। हामीले त्यसका लागि महिला उद्यमीहरुलाई बजारसंग जोडेका हौ’ नगर प्रमुख हमालले भने ।

धनगढी उपमहानगरले यो मेलालाई दीर्घकालसम्म लैजाने सोच बनाएको छ । ‘यो मेलालाई हामीले दीर्घकालसम्म निरन्तरता दिने सोच बनाएका छौँ । घरमै सिमित महिलाले व्यवसाय गर्न सिकून भन्ने हाम्रो उद्येश्य हो’ नगर प्रमुख हमालले भने । ‘शनिबारे बजार सञ्चालन गरेर उद्यमशिलता विकासका लागि आवश्यक सिप र तालिको समेत पहिचान गरिने छ ।’

धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले महिलाको आय आर्जन बढाउन र सीप सिकेका महिलाहरुलाई उत्पादन गरेर ब्यवसाय गर्न सहज होस भनेर मेलाको आयोजना गरिएको बताईन । ‘यस मेलाले महिलाहरुमा उद्यम गर्ने बानीको  विकास हुनेछ भने सीकेको सीपबाट उत्पादन गर्ने भावनाको विकास हुनेछ’ उपमेयर रानाले भनिन ।

धनगढी उपमहानगरपालिकाले धनगढीमा युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्नेतयारी गरेको छ । धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरू लक्षित गरी कमाउदै पढदै अभियान अन्तर्गत साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्ने तयारी भइरहेको उपमहानगरले जनाएको छ ।